दरबार हाइस्कुलको शिलान्यास

 साउन १८, २०७५ शुक्रबार १३:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ । 

चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको दरबार हाइस्कुलको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत  यु होङले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो । विद्यालय पुनर्निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबारहाइस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफूले लिएको बताउनुभयो ।

चीन सरकार आफैले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया