सन्दर्भ धान दिवस : सुदूरपश्चिममा चामल आयात घट्यो

 असार १५, २०७७ सोमबार १२:४८:५४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ । हरेक वर्ष अर्बौं रुपैयाँको चामल आयात हुँदै आएकोमा चालू आर्थिक वर्षमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका अनुसार कैलाली भन्सार हुँदै प्रदेशमा गएको आर्थिक वर्ष २०७५/७६ मा २५ हजार एक सय २१ मेट्रिक टन अर्थात एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैयाँ बराबरको चामल आयात भएको थियो । 
मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७६÷०७७ मा गएको वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ । चालू आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टन मात्र चामल आयात भएको छ । यसको मूल्य  ६१ करोड रुपैयाँ हुन आउँछ । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका कारण चामल आयातमा कमी आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती विस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिँचाई सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं ।’
यस्तै यो वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हँुदै गएको मन्त्रालयको दावी छ । मन्त्रालयका प्रवक्ता शर्माले देशभरी नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशमा ६ लाख ५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष २०७६÷७७ मा ६ दशमलब ७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ६ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । मन्त्रालय मातहातको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागू भएसँगै प्रदेशले कृषि क्षेत्रमा फड्को मारेको बताउनुभयो । 

‘संघीयता हुनुभन्दा पहिले कृषिमा बजेट अपुग थियो, अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, बीउ लगायतको सहयोग पुगेको छ’, उहाँ भन्नुहुन्छ, ‘यसले किसानलाई पहिलेको भन्दा धेरै हदसम्म सहयोग पुगेको छ ।’

मल अभाव कायमै

सधैं रासायनिक मल प्रयोग गरेको खेतमा यो वर्ष मल अभावमा उब्जनी घट्ने यस क्षेत्रका किसानहरु बताउँछन् ।

कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले समयमै मल नपाउँदा खेती गर्न समस्या भइरहेको गुनासो गर्नुहुन्छ । देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानले बताउँदै आएका छन् । मल खोज्न धेरै ठाउँ धाए पनि मल पाउन नसकेको कैलारी गाउँपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीको दुखेसो छ ।

खेती लगाउने समयमा मल नपाए पछि मल बिना नै खेती गर्नुपर्दा यो वर्ष उब्जनी घट्ने किसानमा चिन्ता छाएको छ ।

तर प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मलको कुनै पनि अभाव नभएको दाबी गदै आएको छ । सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

लक्ष्य भन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले बताउनुभयो । उहाँका अनुसार डिएपी ६ हजार १ सय ३ मेट्रिक टन, युरिया १० हजार ४ सय ५५ मेट्रिक टन र पोटास २ सय ४६ मेट्रिक टन आयात भएको छ ।

बाँकी मल आउने क्रममा रहेको भन्दै उहाँले केही दिन भित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गर्नुभयो । किसानहरूले बर्सेनि खेतीपाती लगाउने समयमा यस्तै समस्या झेल्दै आएका छन् ।

सिँचाई अभाव 

सुदूरपश्चिम प्रदेशमा मलखाद, बीउसँगै किसानले सिँचाई अभाव पनि व्यहोर्नु परिरहेको छ । प्रदेशभरीका कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिँचाई पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिँचाई सुविधा पुगेको जनाइएको छ । निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरी सिँचाई सुविधा रहेको छ भने ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिँचाई सुविधा रहेको जनाइएको छ । 

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सिँचाई अभावकै कारण प्रदेशमा अझै धान खेती व्यवसायिक बन्न नसकेको बताउनुभयो ।

‘वर्षा भएपछि मात्र किसानले समयमै धान रोप्ने गर्छन्, त्यसैमाथि रोपीसकेपछि वर्षा नभए उत्पादनमा ह्रास आउने गरेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेशका किसान अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन्, यसलाई व्यवसायिक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ ।’

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ

सुदूरपश्चिम प्रदेशभरी कुल खेतीयोग्य जमिनमध्ये ४९ दशमलव ६४ प्रतिशतमा रोपाइँ भइसकेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ६ सय ४ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा हालसम्म ९० हजार एक सय ५६ हेक्टरमा रोपाइँ भइसकेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने सबैभन्दा कम डोटी जिल्लामा भएको छ ।

अछाममा  १६ हजार ५ सय ८० हेक्टरमा धान रोपाइँ गरिंदै आएकोमा ९ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ भएको छ भने डोटीमा १० हजार ८ सय ९८ हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको जनाइएको छ ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा धान रोपाइँ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ । मन्त्रालयले दिएको तथ्यांक अनुसार डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा २ हजार ४ सय ९० हेक्टर र दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमा रोपाइँ हुदै आएकोमा २ हजार १६ हेक्टरमा रोपाइँ भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बैतडीमा ५२ प्रतिशतमा रोपाइँ भइसकेको छ । बाजुरामा सात हजार २ सय २० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३ हजार ९ सय ७१ हेक्टरमा रोपाइँ भइसकेको छ ।

बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३ हजार ५ सय ५५ हेक्टरमा रोपाइँ भइसकेको छ भने बैतडीमा ९ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ४ हजार ६ सय ८० हेक्टरमा रोपाइँ भइसकेको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाँडो सुरु भएकोले धानखेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया