कामु प्रधानन्यायाधीश जोशी १५ दिन बिदामा, मिश्रले सर्वोच्चमा पेशी तोक्ने

 साउन २०, २०७५ आइतबार ६:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि पन्ध्र दिनका लागि बिदामा बस्ने हुनुभएको छ। आफू बिदामा बस्ने जानकारी उहाँले शनिबार राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।

शैक्षिक प्रमाणपत्र शंकास्पद र मुद्दा फैसला विवादास्पद भएको भन्दै संसदीय सुनुवाई विशेष समितिले उहाँलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । समितिको निर्णयपछि नियमित काममा जाने, बिदामा बस्ने या राजीनामा दिने विकल्प रहेकोमा उहाँले मध्यमार्गी बाटो रोज्नुभएको हो ।

यसअघि उहाँले नियमित काममा जाने र पेशी तोक्ने प्रतिक्रिया दिनुभएको थियो । तर राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ नेकपाको तयारी रहेको बुझेपछि उहाँले बिदामा बस्ने निर्णय गर्नुभएको हो ।

बिदामा बस्ने निर्णय गर्नुअघि शनिबार विज्ञप्ति निकालेर उहाँले आफूलाई अन्याय भएको भन्दै शैक्षिक प्रमाणपत्रको स्वतन्त्र छानविन गर्न माग गर्नुभएको छ । 

यसैबीच जोशी बिदामा बस्ने भएपछि न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चमा पेशी तोक्नुहुनेछ । मिश्रले नै कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च र न्यायपरिषद्‍को नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।

जोशी बिदा बसेपछि मिश्र सबैभन्दा वरिष्ठ भएकाले संवैधानिक परिषद्ले उहाँलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बाटो पनि खुलेको छ। सर्वोच्चको सबैभन्दा वरिष्ठ न्यायाधीशलाई कामु प्रधानन्यायाधीश बनाउने परम्परा छ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया