सिन्धुपाल्चोकको एउटै वडाका १६१ महिला इराकमा

 साउन २१, २०७५ सोमबार १६:४०:३२ | रासस

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको एउटै वडाका १६१ महिला इराक पुगेको पाइएको छ । उनीहरु भोटेकोशी गाउँपालिका– ५ मार्मिङका हुन् । यो वडाबाट एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । 

सरकारले जान रोके पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक पुगेका हुन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा घिमिरेले बताउनुभयो । माइती नेपालले केही समय अघि गरेको एक सर्वेक्षणबाट यस्तो देखिएको हो । 

गाउँपालिकाकोसाविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । यो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् । 

एउटै घरबाट नन्द, भाउजु, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको संयोजक घिमिरेले बताउनुभयो । गत आवमा महिला र पुरुष गरी कूल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन् । माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठ जना समस्यामा परेका छन् ।

उनीहरु इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरीकामा समस्यामा परेका हुन् । विसं २०७२ मा भूकम्पका कारण तातोपानी नाका बन्द हुनुअधि त्यहाँका महिलाको प्रमुख गन्तव्य खासा रहेको थियो ।

आव २०७४/७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए । राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन् । 

जिल्लामा सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुन थालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया