जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई गभर्नरको चेतावनी

 साउन २४, २०७५ बिहिबार १३:२३:५६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई चेतावनी दिनुभएको छ । 

बैंकर्स एशोसियसन र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले बिहीबार राजधानीमा गरेको अन्र्तरक्रियामा गर्भनर नेपालले समयानुकुलको फाइदा हेरेर व्यवसायी र बैंकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो । पैसा धेरै भयो राष्ट्र बैंकले लिइदिनुपर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैंकर्स र तरलताको समयमा ऋण नलिएर समयानुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उहाँले दोहोरो भूमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराउनुभयो । साढे २ वर्ष अघि मात्रै आफुले व्यवसायीलाई बैकसंग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उहाँले भन्नुभयो, ‘दोहोरो बोल्ने काम नहोस् ।’

गर्भनर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पार्नुभयो । व्यवसायिक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भइरहेको बताउनुभयो । उहाँले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिनुभयो ।

उहाँले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्र बैंकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तीय क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । निर्देशन अनुसार आफूहरुलाई अघि बढाउन सचेत गराउँदै उहाँले भन्नुभयो, ‘राष्ट्र बैंक कठोर रुपमा आउनु नपरोस् । अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ ?’

उहाँले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तीय क्षेत्रलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया