गुणस्तरहीन पाइएपछि सगरमाथा सिमेन्टको नमुना परीक्षणका लागि काठमाण्डौं पठाइयाे

 साउन २४, २०७५ बिहिबार १६:३७:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिका वडा नं-४ गोग्लीमा कारखाना रहेको सगरमाथा सिमेन्टको गुणस्तर मापनका लागि नमुना काठमाण्डौं पठाइएको छ ।

सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागको टोली दाङमा आएर बिहीबार परीक्षणका लागि नमुना लगेको हो ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादवको टोलीले दाङमा सिमेन्टको नमुना लगेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुरमा बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परीक्षणका लागि काठमाडौं लगेको हो ।

बिहीबार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको नेतृत्वमा विभागको टोली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वली सहित पत्रकारहरुको टोली उद्योगमा पुगेर नमुना संकलन गरी विभागमा मापनका लागि पठाएको हो ।

 घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया