नियमावलीमा ताेकिएकाे न्यूनतम पारिश्रमिक दिनसक्ने अवस्था साना उद्याेगीकाे छैन: अध्यक्ष सिंह

 साउन २५, २०७५ शुक्रबार १७:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - घरेलु तथा साना उद्योगीहरुले सरकारले हालै लागू गरेको श्रम नियमावलीप्रति आपत्ति जनाएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले यही महिनाबाट लागू गरेको श्रम नियमावलीले घरेलु तथा साना उद्यमीलाई मारमा पारेको भन्दै आपत्ति जनाएका हुन ।

नियमावलीमा गरिएको व्यवस्था अनुसार उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै महासंघले त्यस सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

सरकारले श्रावण महिनाबाट लागू गरेको नियमावलीले उद्योग चलाउन नसक्ने अवस्था आएकाले सो सम्बन्धमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

शुक्रबार काठमाडौंमा सरकारले हालै लागू गरेको श्रम नियमावलीका विषयमा छलफल गरिएको थियो । सोही छलफलमा भाग लिँदै महासंघका कार्यवाहक अध्यक्ष सिंहले यो नियमावलीले आफूहरुलाई मारमा पारेको पनि स्पष्ट पार्नुभयो ।

नियमावलीमा श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ तोकिएको छ । महासंघका अध्यक्ष सिंंहले सो पारिश्रमिक दिने अवस्था पनि नेपालका साना उद्योगहरुसँग नरहेको स्पष्ट पार्नुभयो ।

महासंघले कामदारहरुलाई सीपयुक्त तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । सरकारले दक्ष कामदारका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने कार्यबहाक अध्यक्ष सिंहको भनाई छ ।

उहाँले दक्ष कामदारका लागि सीपयुक्त तालिम दिने व्यवस्था सरकारले नगरे मुलुकभित्रै रोजगारीको अवस्था सृजना गर्ने सरकारको योजना अघि बढन नसक्ने चेतावनी पनि दिनु भयो ।

सरकारले हालै लागू गरेको श्रम नियमावलीमा विदेशी कामदारलाई काम गर्न दिन नपाउने व्यवस्था गरिएको छ । महासंघले सो व्यवस्था नियमावलीमा गरेकोमा पनि आपत्ति जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया