राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग तत्काल गठन गर्न डा. भट्टराईकाे माग

 साउन २७, २०७५ आइतबार १४:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सांसदहरुले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । 

सांसदहरुले विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अर्थ समितिको आइतबारको बैठकमा बोल्दै सांसद डा. बाबुराम भट्टराईले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले आर्थिक क्षेत्रको कार्यान्वयनका लागि मुख्य निकाय आयोग भएको उल्लेख गर्दै त्यसको गठनमा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले आयोग गठन नभएकै कारण संघीयता कार्यान्वयनको काम अस्तव्यस्त हुने अवस्था रहेको तर्क पनि गर्नुभयो ।

बैठकमा बोल्दै सांसद महेश बस्नेतले सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आर्थिक वर्ष असारको मसान्त नभई चैत्रको मसान्ततिर सार्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनुभयो ।

समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले असारको अन्तिममा आएर बजेट खर्च गर्ने परिपाटी अन्त्यका लागि सरकारले बजेट कार्यान्वयन कार्यतालिका बनाएर कामलाई अघि बढाएको स्पष्टिकरण दिनुभएको थियो ।

उहाँले राजस्व असुली बढाउन सरकारले करको दायरा बढाउने र राजस्व चुहावट नियन्त्रणको नीति लिएको पनि समितिलाई जानकारी गराउनुभयो ।

अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि विश्व बैंक र एशियाली विकास बैंकले पनि आवश्यक रकम उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया