सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – निर्माण व्यवसायीको लापर्बाही, कोरोना भाइरसको सङ्क्रमणलगायत कारणले समस्यामा परेको देशकाे सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरकाे निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कुल ४०० केभी क्षमताको याे सबस्टेशन बुधबार रातिदेखि पूर्णरुपमा चार्ज भइ सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई 'फूल लोड'मा चार्ज भएको जनाएको छ ।
आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतीक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदानप्रदानका लागि बाटाे खुलेकाे छ । कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युतसमेत त्यही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।
याे सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कुल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा याे सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल–भारत अन्तर्देशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदानप्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ ।
प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत बाटाे खुलेकाे छ ।
याे सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।
गएकाे वैशाख अन्तिम हप्ता नै याे सबस्टेशन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पुर्याउन सकिएको थिएन । पूर्वकार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएकाेमा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
विसं २०७५ सालदेखि निर्माण सुरु भएको याे सबस्टेशन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उहाँले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भन्दै सरोकार भएका सबैलाई धन्यवादसमेत दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।