सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
सर्लाही – सर्लाहीकाे धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाण्डौ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् ।
काठमाण्डौमा राष्ट्रपति, उद्योगमन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक हप्ताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताउनुभयो । उहाँका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्याे । सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासाे छ ।
'छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो', उहाँले बताउनुभयो । गएकाे वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले तीन/चार वर्ष अघिदेखि नै किसानसँग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी छ । भाका राखेर उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैँसम्म रुवाइरहेकाे अध्यक्ष मैनालीको भनाइ छ । उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले झण्डै ३० करोड रुपैयाँ र महालक्ष्मीले झण्डै ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसान निराश भएका छन् ।
किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक फेरि सञ्चालन गर्न उखु क्रसिङ गर्ने गरी प्रविधि मर्मतको काम भइरहेको छ । तीन/चार वर्ष पहिलादेखिको किसानका भुक्तानी बाँकी राखेका उद्योग फेरि सञ्चालनको तयारी गर्नु आफ्ना लागि थप पीडादायी हुने किसानको भनाइ छ । किसानले पटक–पटक आन्दोलन गर्दा पनि यी दुई उद्योगले किसानको भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।