पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढ्यो

 मंसिर १७, २०७७ बुधबार १०:२३:५ | रासस
unn.prixa.net

काठमाण्डाै - पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ । देशमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै यस दरबार सङ्ग्रहालय बन्द भएको थियो ।

यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, 'पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब १४० र अन्य दिन ७० को हाराहारीमा सङ्ग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।' 

कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिनुभयो । पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गएकाे शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार सङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्बिरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्बिर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । देशमा कोरोना कहर आएसँगै गएकाे वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो । यस महिनादेखि देशभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

गएकाे वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाण्डौ उपत्यकाको प्रशिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरको रूपमा परिचित छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया