सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागमा रहेकाे ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले कार्य गर्न लागेको हो ।
किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले तालको नाम किङफिसर ताल राखिएको भनाइ छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व सम्हाले लगत्तै “सफा ताल तथा नदी अभियान’ मार्फत तालतलैयाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुभएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
नेपाली सेनाले कैलालीको कोइलही ताल, रुपन्देहीको गजेडी, बर्दियाको बढैया, सिरहाको कमल र देवी, सुनसरीको बर्जु, सप्तरीको ठाकुर–बाबालगायतका तालतलैयाको पुनर्निर्माण गरी यसअघि नै पालिकालाई हस्तान्तरण गरिसकेको छ ।
किङफिसर ताल देशमा रहेका पाँच हजार ३५८ तालमध्ये निकै चर्चा पाउँदै आएको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित यस ताल मानव निर्मित हो ।
नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याएअनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको यस ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिबाट चालु आर्थिक वर्षमा एक करोड ८५ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पुनर्निर्माणलाई वस्तुवादी र व्यावहारिक तुल्याउन स्थानीयवासीसँग छलफल गरी अहिले विस्तृत कार्ययोजनासमेत तयार गरी किङफिसर १ र २ को काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने उद्देश्यका साथ बोलपत्र आह्वान भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको यस ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमुना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन ९२०७६० अनुसार यस जिल्लामा राष्ट्रिय निकुञ्जभित्र ३७ र मध्यवर्ती क्षेत्रभित्र २१ गरी ५८ वटा साना तथा ठूला ताल तथा घोल रहेका छन् । ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । याे ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको छ ।
यस परियोजनाअन्तर्गत पुरिएको अवस्थामा रहेको ताल सफा गरिनुका साथै वरिपरि पैदल मार्ग निर्माण गरिनेछ । तालको बीचमा चेक बाँध पनि बनाइनेछ । त्यहाँ अवस्थित शिव मन्दिरदेखि तालसम्म जाने बाटोलाई व्यवस्थित गरिने पनि निर्देशनालयले जानकारी दिएको छ । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले याे ताल स्थानीय निकायलाई हस्तान्तरण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।