सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
तनहुँ – ‘सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी पर्दा डोकोमा बोकेर ल्याउनुपर्थ्यो’, तनहुँको ऋषिङ गाउँपालिका ४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झँदै भन्नुहुन्छ, ‘दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पुर्याउनुपर्थ्यो ।’
तनहुँको दक्षिणी भेगका रूपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका १३ र ऋषिङ गाउँपालिका १ जोड्ने सुढेमा रहेको सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पुर्याउन सकिने भएको छ । ‘अब चाहिँ सहज हुने भयो, गाडीमा २०/३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ’, मल्लले भन्नुभयो, ‘दुःखका दिन सकियो ।’ मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो । ‘पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो’, मल्लले भन्नुभयो ।
ऋषिङ गाउँपालिका ४ नाजुङका वीरबहादुर थापा पनि सेती नदीमा पक्की पुल निर्माण भएपछि खुसी हुनुहुन्छ । ‘पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो’, उहाँले भन्नुभयो, ‘अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुने भयो ।’
सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत यो पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको यो पुल विसं २०७१ असार २९ गते निर्माण सुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । १० करोड ७१ लाख दुई सय ७८ रुपैयाँ लागत रहेको पुलको ठेक्का भरतपुरको एडभेन्चर कन्स्ट्रक्नश प्रालीले पाएको थियो । यो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाइपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो । ‘पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।’ लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो । ‘यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ’, उहाँले भन्नुभयो, ‘पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । ‘बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौँ’, उहाँले भन्नुभयो । गाउँपालिकाले अबको गाउँ सभाबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।