प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै

 मंसिर २५, २०७७ बिहीबार ८:२५:४१ | रासस
unn.prixa.net

काठमाण्डाै -  देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लामा रहेका हुलाक कार्यालयहरुबाटै हुने भएको छ । 

केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाण्डाै नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।

'परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाण्डाै आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासङ्घलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ,'उहाँले भन्नुभयो । 

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेस गर्न सकिने व्यवस्था भएको छ । प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौंसम्म बिताउनु पर्ने अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ । यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् । 

लामो समयसम्म पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका, अपाङ्गता जस्ता कारणले सूचना विभागसम्मको पुहँच नभएका पत्रकारलाई सहजै जिल्लाबाटै सेवा उपलब्ध हुने भएपछि निरन्तर कार्यक्षेत्रमा लाग्न चाहने सञ्चारकर्मीलाई बेरोकटोक काम गर्ने अवसर मिल्नेछ । यसले उनीहरुको मनोबल बढ्न गइ अन्ततः समाचार प्रवाहमा गुणस्तरीयता आउने अपेक्षा गर्न सकिन्छ । 

नयाँ परियचपत्रका लागि पनि जिल्लाबाटै आवेदन दिने व्यवस्था मिलाउने प्रतिबद्धता सरकारबाट आउनु प्रशंसनीय छ । नेपाल पत्रकार महासङ्घले पनि सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।

नेपाल पत्रकार महासङ्घले सम्बन्धित जिल्लाबाटै प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने सरकारको निर्णयको स्वागत गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले सङ्घीय शासन प्रणालीमा अधिकारलाई विकेन्द्रीत गर्ने सिद्धान्तको कार्यान्वयन सञ्चार मन्त्रालयबाट भएको बताउनुभयो । '

सञ्चार क्षेत्रमा सङ्घीयता त्यति धेरै अनुभूति गर्न पाइएको थिएन, यो निर्णयले अधिकार जिल्लातहमा विस्तार भएको छ । अब सेवा सहज हुन्छ,'उहाँले भन्नुभयो – 'नीतिगरुपमा निर्णय भएको छ । यसलाई सरलीकृत गर्न पत्रकारका तर्फबाट पनि योगदान आवश्यक छ । सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न पत्रकार महासङ्घ र सरकारले संयुक्तरुपमा अनुगमन गर्नुपर्छ ।”

सरकारको निर्णय कार्यान्वयनमा आउने जटिलतालाई हल गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

दुर्गमका पत्रकार उत्साहित

जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन् । नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकांश पत्रकारले प्रेस पास नै नलिई काम गर्दै आएका थिए । प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न सकेका थिएनन् । 

नेपाल पत्रकार महासङ्घ डोल्पाका संस्थापक अध्यक्ष विष्णुबहादुर बुढा जिल्लाबाटै प्रेस पास नवीकरण गर्न सकिने सरकारको निर्णयबाट दुर्गमका पत्रकारमा उत्साह थपेको बताउनुहुन्छ । महासङ्घमार्फत दुर्गमका पत्रकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास नवीकरणको माग गर्दै आएका थिए । 'हामीले लामो समयदेखि प्रत्येक फोरममा जिल्लाबाटै प्रेस पासको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थियौँ,'उहाँले भन्नुभयो – 'सरकारले ढिलै भए पनि जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाएको छ । हामी अत्यन्त खुशी भएका छौँ, सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।

 प्रेस पास नवीकरणका लागि काठमाण्डाै नै आउनुपर्ने बाध्यात्मक अवस्था हुँदा आफ्नो प्रेस पास चार पटकसम्म नवीकरण गर्न नपाएको उहाँको भनाइ छ । 'प्रेस पास नवीकरणका लागि तोकिएको समयमै काठमाण्डाै जानुपर्ने अवस्था थियो, केही पत्रकारले प्रेस पास लिए पनि नियमित नवीकरण गर्न सकेका थिएनन्,'उहाँले भन्नुभयो – 'अब प्रेस पास लिने तथा नियमित नवीकरण गर्नेको संख्या बढ्ने निश्चित छ ' बुढाले स्मरण गर्नुभयो । 

विभागले चालु आवको प्रथम चौमासिकमा ६७८ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गरेको तथ्याङ्क छ । यही अवधिमा एक हजार २२० प्रमाणपत्र नवीकरण भए । यसैगरी स्वतन्त्र प्रेस पास चार, विदेशी पत्रकार प्रेस पास पाँच र अध्यक्ष÷प्रकाशक परिचयपत्र ४५ वटा जारी भएका छन् । यही अवधिमा १६० वटा नयाँ अनलाइन दर्ता र १५१ अनलाइन नवीकरण गरिएको विभागले जनाएको छ । यस्तै १३ वटा पत्रिका स्थायी दर्ता सिफारिश र ५९ वटा पत्रिका अस्थायी दर्ता सिफारिश भएका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया