डब्लूएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने

 पुष ४, २०७७ शनिबार १९:३३:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ ।

खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लूएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका देशको नियमनकारी निकायमा दर्ता हुनुका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका देशको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ । सरकारले डब्लूएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले त्यही अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लूएचओले सूचीकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताउनुभयो । अहिलेसम्म डब्लूएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचीकृत र आकस्मिक प्रयोगका लागि सूचीकृत गरेको छैन । त्यही भएर नेपालले  कोभिड–१९ विरुद्ध उत्पादन गरेको देशको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ ।

अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । खोप शाखाका निर्देशक डा गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन् । दुवै अमेरिकी कम्पनी हुन् । फाइजर कम्पनी अमेरिका र बेलायत दुवै देशमा दर्ता भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का कम्पनी अन्तिम परीक्षणको रूपमा रहेका छन् ।

“सम्बन्धित देशमा दर्ता र नागरिकलाई लगाएका खोप डब्लुएचओमा सूचीकृत नभए पनि हालै जारी गरिएको औषधि ऐन–२०३५ अध्यादेशअनुसार नेपालमा दर्ता गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “डब्लूएचओमा सूचीकृत नभई यसरी नेपालमा दर्ता भएपछि यहाँका नागरिकलाई लगाउन सकिन्छ ।”

अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुन्छ । माइनस २० डिग्री सेल्सियस तापक्रममा रहने मोडेर्नालाई पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राखेर प्रयोगमा ल्याउन सकिने शाखाका निर्देशक डा गौतमको भनाइ छ । उहाँले अहिले तत्काल नेपालका लागि अक्सफोर्ड– एस्ट्राजेनेका र मोडेर्ना कम्पनीका खोप मात्र उपयुक्त रहेको बताउनुभयो ।

भण्डारण क्षमता बढाइँदै

खोप शाखाले ‘कोभ्याक्स सुविधा’ मार्फत ल्याउन खोपको भण्डारणका लागि तयारी थालेको छ । शाखाका निर्देशक डा गौतमका अनुसार अहिले एक लाख ९० हजार लिटर क्षमता राख्न सकिने भण्डारण रहेको बताउनुभयो ।

“अहिले हामीसँग पहिलो चरणका तीन प्रतिशत जनसङ्ख्यालाई लगाउने खोपको भण्डारण क्षमता रहेको छ”, उहाँले भन्नुभयो, “चाँडै नै २० प्रतिशत जनसङ्ख्यालाई पुर्याउने खोप भण्डारण क्षमता बढाउने तयारीमा रहेका छौँ ।” कोभ्याक्स सुविधामार्फत कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारीमा सरकार रहेको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया