नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल

 पुष १०, २०७७ शुक्रबार ६:४९:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।

यस सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली शान्ति सैनिकको मद्दत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः त्यस सहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ । त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको थियो । 

यस घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएकोछ । कारबाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ । आउँदाे आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व सुरु भएको हो ।

पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि  निर्वाचन  अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजनीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् । विद्रोही समूहले देशको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण सुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

विद्रोहीको प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयोग गर्न निर्देशन दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । निर्वाचनका लागि अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेता पनि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकले सुरक्षा सुदृढ तुल्याउन तल्लिन रहेको सेनाले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया