दूध, दही बेचेर रक्सी खाने गाउँलेको बानी फेर्दै युवा

 साउन ३०, २०७५ बुधबार १७:५८:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ लाई बत्ति मुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ ।

जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नम्बर ९, सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले लगानी गरे पनि त्यो ठाउँको अझै विकास हुन सकेको छैन । साविकको कलेना गाउँ विकास समितिका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त क्षेत्र हो । तुलनात्मक रुपमा पछिल्लो समयमा केही सुधार भए पनि स्थानीय नागरिकको जीवनस्तरमा खासै सुधार भएको पाईंदैन ।

घरमा भैँसी पाल्ने र दूध, दही, घ्यू सिलगढीमा बेच्ने, बारीमा फलेको सागपात बजारमा लगेर बेच्ने र रक्सी किनेर सेवन गर्ने धेरैको बानी छ । दूध, दही, घ्यू, सागपात बेच्न घरका महिलाहरु बजारमा गए पनि श्रीमानका लागि रक्सी किनेर लगिदिनुपर्ने हुन्छ । 

गाउँमा पनि लुकिछिपी रक्सी बेच्नेको कमी छैन । कोही कोही मानिस त बिहान उठेर चिया खाने समयमा नै रक्सी पिउने गरेको अहिले पनि भेट्न सकिन्छ । तर अहिले केही स्थानीय नागरिकको दैनिकी भने फेरिएको छ ।

कृषि पेशा जीवनको साहारा, व्यस्त रहन्छन् बाजी र देउसरा

कलेनाका गुणे गाउँका ४५ वर्षीया बाजी साउदको दैनिकीमा अहिले परिवर्तन भएको छ । १२ वर्षकै उमेरमा बुवा गुमाएका र झण्डै २१ वर्ष पहिले आमा गुमाएका बाजीलाई सानै उमेरदेखि नै घरपरिवार सम्हाल्ने जिम्मेवारी आइपर्‍यो ।

उहाँले घरपरिवारको जीवन धान्न पुख्र्यौली पेशा कृषि बाहेक अरु केही गर्न सक्नुभएन । साउदले ठूलो लगानी गर्न सक्ने आर्थिक अवस्था नभए पनि सानो सानो लगानीबाट तरकारी खेती, भैँसीपालन, बाख्रापालन सुरु गर्नुभयोे ।

बाजीको घरपरिवारमा उहाँकी श्रीमती देउसरासँगै ४ छोरा, ३ बुहारी, २ नाती र १ नातिनी छन् । बाजी र देउसरा आफ्नो पेशामा खुशीसाथ व्यस्त देखिनुहुन्छ । सुरुमा आफ्नै ज्ञानमा खानका लागि मात्रै तरकारी खेती गर्नुभएका उहाँले अहिले थुप्रै जग्गामा तरकारी खेती गरेर आयआर्जन गर्नुहुन्छ । गाउँमै तरकारी खेती गर्ने उहाँ पहिलो व्यक्ति भएको बताउनुहन्छ ।

तर अहिले उहाँले दिपायल सिलगढी नगरपालिका अन्तर्गत कृषि विकास शाखाको ४० हजार अनुदान सहयोगमा टमाटर खेतीका लागि फलामे पोलसहितका २२ मिटर लम्बाई र ५ मिटर चौडाई रहेको पोलि हाउस तयार गर्नुभएको छ ।

गाउँमा गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा सिँचाई सुविधा पनि पुगेको छ । अब तरकारी खेतीका लागि निकै सहजता भएको बाजी बताउनुहुन्छ । अहिले उहाँको बारीमा बन्दा, प्याजलगायतका तरकारी पाइन्छ भने बेमौसमी काँक्रा फुलेर फल लाग्ने तयारीमा छ ।

अब तरकारी खेतीलाई थप बिस्तार गर्ने उहाँको योजना छ । बाजीलाई ३ महिने अगुवा कृषक प्राविधिक तालिम समेत दिइसकेको दिपायल सिलगढी नगरपालिकाका कृषि विकास शाखाका नायब प्राविधिक सहायक संगम साउदले बताउनुभयो ।

एक रोपनीभन्दा बढी खेतमा तरकारी खेती गर्ने कृषकहरुको बाली बीमा गर्ने प्रावधान अनुसार बाजीको तरकारी बालीको बीमा पनि गरिने र निरन्तर प्राविधिक सहयोग गरिने नायव प्राविधिक सहायक साउदले बताउनुभयो ।

उहाँले २ वटा भैँसी पनि पाल्नुभएको छ । दुवै भैँसी ब्याउने छन् । जब गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा ग्रामीण गरिबी न्यूनिकरण कार्यक्रम लागू भई त्यस गाउँमा तेडी सामुदायिक संस्था गठन भयो । त्यस संस्थामा बाजीकी श्रीमती देउसरा पनि सदस्य बन्नुभयो ।

उहाँले त्यो संस्थाबाट २०६५ वैशाखमा १८ हजार ऋण पाउनुभयो र एउटा भैँसी किन्नुभयो । त्यो भैँसी ब्याएपछि बाजी र देउसराको आर्थिक श्रोतको बाटो खुल्यो । उहाँहरुले त्यो भैँसीको दूध, दही, घ्यू बजारमा बेचेर आम्दानी सुरु गर्नुभयो ।

चार बेतसम्म ब्याएको भैँसीका २ वटा पाडा सानोमै बेचेर पनि करिब १५ हजार आम्दानी गर्नुभयो । एउटा पाडो सानोमै मर्यो र त्यसै भैँसीबाट जन्मेको एउटा पाडी अहिले ब्याउने भएको छ ।

उहाँले सुरुमा किनेको भैँसीसँग साटेर अर्काे भैँसी ल्याउनुभयो । जुन भैँसीले करिब १९ महिनासम्म दूध दिइरहेको छ । उहाँका दुवै भैँसी एकै समयमा ब्याउने भएकाले ब्याउने बित्तिकै एउटा भैँसी साटेर अर्काे वर्ष ब्याउने भैँसी ल्याउने बाजी र देउसराले घर सल्लाह गरिसक्नुभएको छ ।

एक वर्षमा एउटा दुहिनो भैँसी र अर्काे ब्याउने भैँसी भएमा हरेक वर्ष दूध, दही, घ्यू भइरहने हुनाले उहाँहरुले यस्तो योजना बनाएको सुनाउनुभयो । उहाँहरुले ८ र ९ वटा मात्रै भए पनि बाख्रा पनि पाल्नुभएको छ । बाख्रा बेचेर घरखर्च चलाउन सहयोग पुगेको उहाँहरु बताउनुहुन्छ ।

बाजीले तरकारी खेती, भैँसी र बाख्रापालनबाटै गाउँमै ११ कोठाको तीन तले घर बनाउनु भएको छ । आफ्नो ४५ वर्षे उमेरसम्ममा २ पटक नेपालगञ्ज उपचारमा गएको बाहेक अन्य कुनै ठाउँ नदेखेको बाजी सुनाउनुहुन्छ । बाजी भन्नुहुन्छ, ‘मैले जे गरेँ, घरमै कृषि पेशामै गरेँ ।’

पहिले करिब ५/६ महिना मात्रै खान लाउन पुग्ने कलेनाका बाजीको मेहनत र अहिलेको प्रगतिका आधारमा अन्य नागरिकले पनि आफ्नो पेशा व्यवसाय सञ्चालन गर्ने हो भने ‘गरे सम्भव हुन्छ’ भन्ने भनाई अनुसार आर्थिक अवस्था र जीवन स्तरमा अवश्य प्रगति हुने बाजीको अनुभवले बताउँछ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया