एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
कास्की - नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफलसँगै सुरु भयो ।
कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत एवं संरचनागत प्रयासबारे कुराकानी भएको थियो ।
वक्ताहरू वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डा. महेश्वर ढकाल र वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्य हुनुहुन्थ्यो । जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आ-आफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे। उनीहरूसँगको छलफल सहजीकरण गर्नुभएको थियो रमेश भुसालले ।
हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ्रे हिमाललाई प्रस्तुत गरे । हिउँबिहीन बनेको हिमालमा कार्बनडाइअक्साइड र ब्ल्याक कार्बोनले कति असर पारेको छ भन्ने विषयमा वक्ता अरनिको पाण्डेले बताउनु भयो ।
‘कार्बनडाइअक्साइडले हिउँ पगाल्छ । साथै दक्षिण एसियामा धेरै उत्पादन हुने ब्ल्याक कार्बनको पनि यसमा भूमिका छ’, उहाँले भन्नुभयो, ‘विशेषगरी दाउरा बाल्दा, इँटाभट्टा सञ्चालन गर्दा र गाडीबाट निस्कने कालो धूवाँ हुन्, जसले जलवायुमा असर पार्छ ।’
उहाँले ब्ल्याक कार्बनले हावा तताउने र हिउँ पगाल्ने काम गर्ने जानकारी दिनुभयो । ती कार्बन २/४ दिनदेखि २/४ हप्तासम्म मात्र रहन्छ । जलवायु परिवर्तन एकदिनको तापक्रमसँग सम्बन्धित विषय नभएर दशकौंदेखिको प्रक्रिया भएको अरनिकोले बताउनु भयाे ।
उहाँकाअनुसार उत्पादित कार्बनडाइअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ । साथै पृथ्वीका लागि खप्टिएको सिरकजस्तो बन्छ । त्यसले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ । अरनिको वायुमण्डलीय विज्ञानका अध्येता हुन्।
४०/४५ वर्षअघि माछापुच्छ्रेबाट हिमनदी बग्ने गरेको र हाल ती नदी बाँकी नरहेको उहाँले सुनाउनु भयो । ‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ । नदी र ताल बढ्छन् । बाढी आउँछ निश्चित छैन,’ उहाँले भन्नुभयो, ‘यहाँ हिउँ मात्र पग्लने हुँदैन, त्यसले खेती किसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ ।’
जलवायु परिवर्तनले अन्टार्टटिका र आर्टिक महाद्वीपतिर पनि बरफ पगालेर समुद्रको सतह बढाएको उहाँले सुनाउनु भयो । त्यस्तै हिउँ पग्लिएर ताल र नदी बढाउने, बाढी निम्त्याउने, वर्षा गराउने, खेतीमा असर पार्नेलगायत असरहरूबारे कुरा भयो । तापक्रममा एक डिग्री मात्रको फरकले जाडो दिन घटाउने वा बढाउनेदेखि लामखुट्टे बढ्नेसम्म फरक पार्ने उहाँको तर्क रह्यो ।
जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा छलफल हुँदै आएको बताउनुहुन्छ डा. महेश्वर ढकाल । उहाँकाअनुसार सिर्जित समस्या न्यूनीकरणका लागि पहल भइरहेको छ । सन् १९९० को दशकमा भएको रियो सम्मेलनलगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रूपमा चर्चा भइरहेको छ, जलवायु परिवर्तनको मुद्दा ।
मूलतः कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई कसरी प्रभाव परेको छर, विकसित देशहरूले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पुर्याउन सक्छन् भन्ने विषयमा बहस हुने गरेका छन् ।
‘नेपालजस्तो देश मारमा छ । भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बन उत्पादन गर्छौँ । यस्तोमा हामीलाई विकसित देशहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पुर्याउनुपर्छ । त्यसका लागि आवश्यक फोरम बनेका छन्,‘ ढकालले भन्नुभयो ।
उहाँकाअनुसार नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनीकरणका लागि सन् २०१० देखि सक्रिय छ। नीतिगत र संरचनागत हिसाबमा पनि केही काम भएका छन् । तर देश सङ्घीयतामा गएपछि नीति कार्यान्वयनका कसरी गर्ने भन्ने विषयमा चाहिँ प्रस्ट नभएको बताउनु भयो ।
वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाकारूपमा मात्र हेरिनुलई समस्याका रूपमा व्याख्या गर्नुभयो । समस्या समाधानका लागि सरकार र आम मानिस सँगसँगै रहनुपर्ने उहाँको बुझाइ छ । ‘समयमा पानी नपर्दा, प्राकृतिक प्रकोपका कारण आम मानिस पीडित छन् । जहाँका मानिसले प्रत्यक्ष दुःख भोगिरहेका छन्, त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ । त्यसमा राज्यको एवम् शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ,’ उहाँले भन्नुभयो ।
आफूहरूले नेपालमा ‘पोलिथिन ब्याग’ प्रतिबन्ध गर्ने अभियानका समय भोग्नुपरेको अप्ठ्याराहरूबारे बताउनु भयो । उनीहरूले झोलामा प्रतिबन्ध लगाउन खोज्दा बजारले झोला उत्पादकको दोष देखाउने, उत्पादक नीतिगत स्पष्टता खोज्ने र सरकार आम मानिसको चेतनामा प्रश्न गरेको उहाँले बताउनु भयो । ती अप्ठ्याराहरूले शक्तिमा रहेका र आम मानिसबीचको मतभेद प्रष्ट पार्यो।
त्यस्तै अहिले नेपालका पालिकामा हुने गरेका योजनाबिनाका विकास कार्यले पनि जलवायु परिवर्तनमा भूमिका खेलेको उहाँको तर्क छ । ‘हरेक जनप्रतिनिधि वा उनीहरूको आफन्तसँग डोजर छ । डोजरलाई वर्षभर काम दिन पनि भीर खनेर सडक बनाउने काम तीव्र छ,’ उहाँले भन्नुभयो ‘जङ्गल नासिएका छन् । एउटै ठाउँमा पुग्न दुई तीनवटा बाटो बनाइएका छन्, जुन दीर्घकालीन हुँदैनन् । एउटै वर्षापछि भत्किन्छ ।’ विकासका नाममा भएका यस्ता कार्यले पनि नकारात्मक असर पुर्याएको उहाँको कथन हो।
मानिसको दैनिकीलाई प्रकृति सन्तुलित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महेश्वर ढकालले भने छिमेकी राष्ट्रहरू भारत र चीनको जनसङ्ख्या, विकास र उत्पादक कार्यले पनि नेपाललाई असर पारिरहेको तर्कअघि सार्नुभयो । ‘ती कार्यले हिमाल पग्लनेदेखि जैविक विविधतामा त असर पारेको छ, वैदेशिक सम्बन्ध आर्थिक र सामाजिकसँगै वातावरणसँग पनि जोडिएको विषय हो,’ उहाँले भन्नुभयो ।
अरनिकोले जलवायु परिवर्तनका विषयलाई शिक्षा र साहित्यसँग जोड्न पर्ने कुरा राख्नुभयो । आँखाले नदेख्ने विषयहरूलाई साहित्य बनाउन गाह्रो भए पनि चेतनामूलक गैरआख्यान बनाउन सकिने उहाँको भनाइ छ। त्यस्तै महेश्वर ढकालले नेपाली भाषामा जलवायु परिवर्तनबारे विषय पाठ्यक्रममा समेट्नुपर्ने साथै अनौपचारिक पाठ्यसामग्रीसमेत प्रकाशन गर्नुपर्ने बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘मिडियाले पनि सायद यी विषय समेट्नुपर्छ । राजनीतिक विषयमात्र प्रकाश पार्दा वातावरण र जलवायु परिवर्तनका कुरा छायामा परेका छन्।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।