सल्यानमा भेटियो बाजा बज्ने अनौठो गुफा !

प्रचारप्रसार गरिदिन स्थानीयको अनुरोध

 भदौ २, २०७५ शनिबार १२:९:५६ | पुरुषोत्तम गिरी

सल्यान – जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ सान्नानचौरस्थित रानी सामुदायिक वनभित्र विभिन्न आकृति र बाजागाजा बज्ने अनौठो खालको गुफा भेटिएको छ । 

स्थानीय मोतीलाल घर्तीले गाई चराउन जंगल गएको बेला नयाँ र अनौठो खालको गुफा देखेपछि स्थानीयलाई खबर गर्दा गुफा पत्ता लागेको हो ।

गुफा भेटिएको थाहा पाएपछि स्थानीयहरु गुफा भएको स्थानमा पुगे । भित्र के  रहेछ भनेर हेर्न जाँदा  विभिन्न खालका आकृतिहरु देखिएको स्थानीयको भनाई छ । ‘ग्वाला गएको बेला गुफा देखेँको हुँ उहाँले भन्नुभयो यसो भित्र तिर हेरेको अनौठा आकृतिहरु देखियो । त्यसपछि गाउँका अरुलाइ पनि खबर गरेँ’, घर्तीले भन्नुभयो । 

मोतीलालले गाउँका अरु व्यक्तिलाई पनि खबर गरेपछि केही दिनअघि  युवा नेता हिमाल योगीसहितको एक टोलीले गुफाको अवलोकन गरेको छ । शंखमुल झिम्पे खर्सुवास सडकखण्ड अन्तर्गत मिलनचोक बाट ३० मिनेटको पैदल यात्रा पछि त्यो गुफासम्म पुग्न सकिने योगीले जानकारी दिनुभयो । 

अहिलेसम्म कुनै नाम नदिइएको त्यो गुफा ३ सय मिटर लामो, २ सय ५० मिटर अग्लो र ८ मिटर चौडा रहेको आफूहरुले अनुमान गरेको उहाँले बताउनुभयो । गुफा पाँच तलाको रहेको छ भने पाँच सय बढी चमेराहरु गुफामा बस्ने गरेको उहाँले बताउनुभयो । गुफाभित्र विभिन्न देवीदेवता, मादललगायतका आकृति रहेको उहाँले बताउनुभयो । 

‘मिलनचोकबाट ३ किलोमिटर भित्र रानीवनमा गुफा रहेछ  । हाम्रो टिम त्यहाँ पुग्दा अचम्ममा परियो’, योगीले भन्नुभयोे, भित्र रहेको प्राकृतिक बाजाको तालमा न नाची बस्न सकिएन् ।’ उहाँलगायतको समूहले त्यो गुफाभित्र पसेर प्राकृतिक अवस्थामा रहेको मादल बजाएर नाचगान र रमाइलो पनि गरेका छन् ।  ‘अनौठो त के छ भने, प्राकृतिक अवस्थामा रहेको मादल मज्जासँग बज्छ’, उहाँले भन्नुभयो, ‘हामीले त्यही मादल बजाएर गीत पनि गायौँ ।’ 

गुफाभित्र विभिन्न आकृतिसँगै प्राकृतिक अवस्थामा बाजासमेत रहेको पाइएको उहाँले बताउनुभयो । यस्तो अनौठो खालको गुफा फेला परेपछि अहिले जिल्लामा यसको चर्चा हुन थालेको छ ।

गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । बस्तीदेखि टाढा जंगलमा रहेको सो गुफा पत्ता लगाउने कुरा त्यत्ति सहज थिएन । स्थानीयहरु निकै बहादुरी देखाएर आफ्नो ज्यान जोखिमा राखेर गुफाभित्र पस्ने आँट गर्नुले नै यतिबेला विचित्र गुफा भनेर उल्लेख गर्न सहज भएको छ ।

गुफाको महत्व र इतिहास बुझाउन सकेमा अत्यन्तै रमणीय स्थानमा रहेको त्यो अनौठो गुफा सबैको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको भनाई रहेको छ । 
छत्रेश्वरी तथा समग्र सल्यानको पर्यटन प्रवद्र्धनका लागि गुफाले महत्वपूर्ण भुमिका खेल्ने बलियो सम्भावना देखिएको छ । गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना रहेको स्थानीय बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया