१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागिएको हो । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उहाँले बताउनुभयो । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिँदै छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेको भन्दै उहाँले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जानकारी दिनुभयो ।
यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधिसमेत खुवाइने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ । ती नमूना काठमाडौँ पठाइने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म निकुञ्जमा पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् ।
पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टालाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । छ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यहीँ काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।