तीन वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट

 फागुन २०, २०७७ बिहीबार ७:३९:४९ | रासस
unn.prixa.net

काठमाण्डौ – गएको ३ वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट भएको छ ।

राजस्व अनुसन्धान विभागले हिजाे सार्वजनिक सूचना निकालेर तीन वर्षकाे अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा सात अर्ब रुपैयाँको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको जनाइएकाे छ ।

राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै आर्थिक अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ । महानिर्देशक दीर्घराज मैनालीको ३३ महिने कार्यकालको विवरण सार्वजनिक गर्दै विभागले सूचना प्रविधिको प्रयोगसँग जोडेर अनुसन्धान प्रणालीलाई व्यवस्थित गरिएकाले व्यावसायिक आचरण कायम गर्न विभाग सफल भएको जनाएको हो ।

यस्तै विदेशी विनिमय अपचलनतर्फ ४४० लाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिनुभयो । यस्तै मूल्य अभिवृद्धिकरका झुठा तथा नक्कली बीजक जारी गरी ठूलो परिमाणमा राजस्व छली गर्नेविरुद्ध १६० मुद्दा दर्ता गरिएको छ । ती मुद्दामा १९ अर्ब रुपैयाँ बढी बिगो बराबरको छली गरेको आरोप लगाइएको छ ।

विभागले २०७६ साउनदेखि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोबारलाई औपचारिकतर्फ लैजान भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिष्टम (भीसीटीएस) प्रयोगमा ल्याएको थियो ।

आर्थिक सुशासन प्रवर्द्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ‘ग’ मा भएको व्यवस्थाअनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो । विभागबाट प्राप्त विवरणअनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।

याे सूचना प्रणाली छल्न खोज्ने व्यक्तिविरुद्ध झण्डै ३० करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताउनुभयो । पछिल्लो समयमा एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई  पाँच करोड रुपैयाँ बढी जरिवानासमेत लगाइसकिएको छ ।

सार्वजनिक सूचनाअनुसार यस प्रणालीका प्रयोगकर्ता नै एक लाख १३ हजार पुगिसकेका छन् । हालसम्म ४१ खर्ब रुपैयाँ बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराइ ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पुर्‍याएको विभागको भनाइ छ । मैनाली हिजाेदेखि विभागबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया