भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु

 फागुन २४, २०७७ सोमबार १२:५०:५ | रासस
unn.prixa.net

सप्तरी - उमेरले १२ वर्ष मात्र पुगेकी छिन्,अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरी राजविराज नगरपालिका-६ की उनी भारोत्तोलन खेलको अभ्यासमा छ महिनादेखि निरन्तर अभ्यासरत छिन् ।

राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना बुनेकी उनले बिहान ८ बजेदेखि ११ बजेसम्म फलामको गह्रौं भारी उचाल्ने कठोर अभ्यास गर्छिन् । उनको पदक प्राप्त गर्ने परीक्षा नजिकिएको छ । कोभिड-१९ को महामारीपछि पहिलो पटक राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगिता राजविराजमा हुँदै छ । 

यही फागुन २९ र आउँदाे चैत १ गते आयोजना हुने ‘देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन’ प्रतियोगितामा ४० किलो तौल समूहमा उनी प्रतिस्पर्धा गर्दैछिन् । भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादवका अनुसार सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउने अम्बिकाले पदक प्राप्त गर्ने निश्चित छ । हजुरबुबा दुर्गानन्द यादवको प्रेरणाले खेल क्षेत्रमा होमिएकी उनको एउटै लक्ष्य छ सेना बनेर सेवा गर्ने ।

खेल क्षेत्रमा राम्रो गरे सेनामा सहज प्रवेश पाउने विश्वास बोकेकी उनी भन्छिन्, 'देशको सेवासँगै सेनामा प्रवेश पाए आफ्नो खेल क्षमता पनि विकास हुनेछ', आफ्नो सपना र लक्ष्य भनिरहँदा उनका आँखाभरि रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो ।

भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै तीन वर्षदेखि कडा परिश्रम गरिरहेकी अर्की किशोरी हुन् विष्णुपुर गाउँपालिका-४ की १६ वर्षीया पूजाकुमारी मण्डल । 

कक्षा १० मा अध्ययनरत उनले प्रदेशस्तरमा स्वर्ण पदक प्राप्त गरी नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । यसपटक उनले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्णपदकको आशा गर्दै ४९ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

विष्णुपुर गाउँपालिका-१ खुरहुयिाकी १५ वर्षीया सरिता यादव सबैभन्दा जोशिली खेलाडी हुन् । एघार वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनले प्रदेश २ स्तरको प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेकी छिन् । उमेरले कलिलै भए पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा दुई/दुई पटक सहभागिता जनाएर अनुभव बटुलेकी उनी पदकको आकाङ्क्षा राख्दै साइकलबाट छ किलोमिटरको दूरी तय गरी नियमित अभ्यासमा आउँछिन् ।

पाइलैपिच्छे विभिन्न चुनौती र अभावको सामना गर्दै अगाडि बढिरहेकी खेलाडी हुन विष्णुपुर गाउँपालिका-३ मुसहरनियाकी १८ वर्षीया काजल सदा । अभावग्रस्त दैनिकीका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै अगाडि बढेकी उनले प्रदेश २ स्तरमा स्वर्ण पदक र नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा कास्यपदक पाइन । याे सफलताले पाएको हौसलाका साथ अभ्यासमा तल्लिन उनले राजविराजमा हुन गइरहेको राष्ट्रियस्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने र पदक ल्याउने विश्वास व्यक्त गरिन् ।

उनलाई नै आफ्नो प्रेरणाको स्रोत बताउने त्यही गाउँकी १७ वर्षीया किरणकुमारी सदा पनि तीन महीनादेखि भारोत्तोलन खेलको अभ्यासमा छिन्  । किरणले भन्छिन्, 'एकदिन मैले काजलले भारोत्तोलन उचालेको देखेर बडो रोमाञ्चक लाग्यो । पुरस्कृत भएर गाउँ आएपछि उनीसँग समाजको सकारात्मक व्यवहार देखेर मलाई पनि त्यसै गरी खेल्ने इच्छा जाग्यो ।' 

परिवारले भरपुर साथ दिएपछि विष्णुपुर गाउँपालिका-५ कट्टीकी १९ वर्षीया ज्योतिकुमारी मण्डल पनि दुई महीनादेखि अभ्यास गरिरहेकी छिन । उनका बुबाआमाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै पिठ्यूँ थपथपाउँछन् । 

तीन दिदीबहिनीमा माइली ज्योतिले दाजुभाइ नभए पनि बुबाआमाबाट छोरासरहको भरोसा र व्यवहारले उनलाई अगाडि बढ्न प्रेरणा मिलेको छ । विद्युतीय मिस्त्री बुवा श्याम मण्डल र गृहणी आमा शोभादेवी मण्डलको छोरासरहको व्यवहारले उनको सिङ्गो दृष्टिकोण परिवर्तन गरिदिएको छ । भविष्यमा सेना बन्ने सपना साँचेकी उनले विद्यालयमा पढिरहेकै बेला एनसीसी तालीम पनि लिएको बताइन् । उनी भन्छिन्  'मलाई त्यो सैनिक पोसाकमा यति भाँती लगाव छ कि म छिट्टै नेपाली सेना बन्छु ।'
    
चुनौतीका बाबजुद खेल क्षेत्रमा किशोरीको आकर्षण बढ्दै जानुमा राम्रो गर्नसके सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने उनीहरूको विश्वास छ । राजविराजमा रहेकाे जिल्ला खेलकुद विकास समिति परिसरमा नियमित तीन घण्टा अभ्यासमा जुट्ने गरेकी विष्णुपुर मुसहर्नियाकी १६ वर्षीया आरतीकुमारी रजक हुन की राजविराज खरसाल टोलकी १४ वर्षीया अञ्जलीकुमारी यादव हुन् । अधिकांशको सपना खेल क्षेत्रमा राम्रो गर्ने र नेपाली सेना बन्ने रहेको छ । 

परम्परागत सामाजिक मान्यताका कारण अनेक आलोचना झेल्नुपर्ने अवस्थाले अन्य क्षेत्र झैँ खेल क्षेत्रमा पनि महिलाको उपस्थिति कमजोर रहेको उनीहरूको बुझाइ छ । छोरासरह छोरीलाई पनि खेल क्षेत्रमा सहजरुपले हेर्ने वातावरण हुनुपर्ने ज्योतिको भनाइ छ । 
    
समान सहभागिता नै आजको विकासको अपरिहार्यता रहेको भन्दै समान सोँच र व्यवहारको आवश्यकता रहेको सरिताले बताइन । उनी भन्छिन्, 'हौसला, हिम्मत र देशका लागि सेवा गर्ने दृढता छ, त्यहीअनुसारको प्रोत्साहन गर्ने वातावरण आवश्यक छ ।' 
    
स्थानीय निकाय, सङ्घसंस्था र सम्बन्धित निकायले खेल क्षेत्रमा भविष्य खोजिरहेकी छोरीलाई प्रोत्साहन गर्नसके आकर्षण बढ्ने र गुणस्तर पनि बढ्ने खेलाडीको धारणा छ । भारोत्तोलनमा दुई महिलासहित १२ अन्तर्राष्ट्रिय खेलाडी जन्माउने जिल्लामा पछिल्लो समय किशोरीको सहभागिता बढाउन प्रयासरत प्रशिक्षक पुन्तीलाल यादव थप प्रोत्साहनको आवश्यकता रहेको बताउनुहुन्छ । 

चिनजानका अभिभावकलाई भनसुन गरेर प्रोत्साहित गर्दै प्रशिक्षण गर्ने गरेको जानकारी दिँदै यादव भन्नुहुन्छ, 'प्रोत्साहन पाएमा सप्तरीको शम्भुनाथकी देवी , कविता  र शान्ति चौधरी झैँ सप्तरीका किशोरीले दक्षिण एशियाली खेलकुद (साग)लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर देशकै गरिमा बढाउने छन् ।' 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया