दिगो विकास मापदण्ड सन् २०३० अघि नै पूरा हुने सम्भावना छ : प्रधानमन्त्री ओली

 चैत १, २०७७ आइतबार १४:४७:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गर्ने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आइतवार आयोजित ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना रहेको बताउनुभयो । 

नेपाल अहिले विकासशील देशमा सिफारिस भइसकेको छ । नेपालको विकासको गतिलाई तीव्र बनाइएको बताउँदै उहाँले भन्नुभयो, ‘यो शुभारम्भ कार्यक्रम राष्ट्रिय अभियान हो, ऐतिहासिक क्षण र गौरवको अभियान हो । परिपक्व ढङ्गले तीव्रताका साथ अघि बढाएर अभियान सफल बनाउन सङ्घ, प्रदेश तथा पालिकालाई हार्दिक आग्रह गर्दछु ।’ 

प्रधानमन्त्री ओलीले नागरिकको जीवन सुरक्षित, खुसी र सुखी हुने चाहनालाई केन्द्र भागमा राखेर दुःख–कष्ट समाप्त पार्ने र सुखानुभूतिको सिर्जना गर्ने उद्देश्यले सरकारले प्रादेशिक तथा स्थानीय सडक निर्माण र सुधार कार्यक्रम शुभारम्भ गरेको बताउनुभयो । तीन सय ९२ ठाउँबाट आवेदन प्राप्त भएको जनाउँदै उहाँले पक्की ठाउँबाट आएका मागको स्तरवृद्धि हुने तथा विशेषगरी नयाँ सडक निर्माण गरी बाटामा सङ्केत चिह्न राख्ने र चालक एवम् ट्राफिक तालिम दिइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीका अनुसार अब बन्ने सडक फराकिला र सुरक्षित हुने छन् । प्राविधिक कारण सडक निर्माणमा हुने त्रुटिले दुर्घटना हुने भएकाले अब त्यस्तो नहुने गरी योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

उहाँले हवाई यातायात, सडक, केबुलकार, मैदान सुधार विस्तारलाई अघि बढाएर हरेक पालिकामा हेलिप्याड र पोखरी बनाउने कार्यमा जोड दिइएको जनाउँदै कृषिको आधुनिकीकरण, स्वास्थ्य र पर्यटनका लागि पनि सरकार अघि बढिरहेको बताउनुभयो ।  

नेपाललाई खुला दिसामुक्त देश बनाइसकिएको बताउँदै प्रधानमन्त्री ओलीले भौतिक विकासका माध्यमबाट सामाजिक विकासलाई नयाँ उचाइमा उठाउन सकिने विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नेपाल पहिलो डिजिटल देशमा परिणत भएकाले नेपाल आधुनिक प्रविधिमा अघि बढेको उहाँले जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘स्वास्थ्य अवस्था कमजोर भए पनि अहिले पाँच लाखभन्दा बढीले कोरोनाको खोप लिएका छन् । मन्त्रालय काममा जुटेको छ, कर्मचारीले काममा तीव्रताका साथ ध्यान दिएका छन् । अब दुई सय १० तहमा थप तीव्रता आउने छ ।’ 

त्यस अवसरमा सङ्घीय मामिलामन्त्री गणेश ठगुन्नाले तीन सय ९२ पालिकाबाट सडक निर्माणको माग भएको र छानबिन प्रक्रियालाई अघि बढाइएको बताउनुभयो । राष्ट्रिय सडक सञ्जालसँग जोड्न चार हजार किलोमिटर पक्की सडक निर्माण हुने मन्त्री ठगुन्नाले जानकारी दिनुभयो । 

पक्की सडक नपुगेका एक सय १० पालिका, प्रदेश जनप्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आइतवार देशका सातै प्रदेशमा समझदारीपत्रमा हस्ताक्षर गरिएको उहाँले बताउनुभयो । दुई सय ८३ पालिकाका केन्द्रलाई प्रदेश तथा राष्ट्रिय सडक सञ्जालमा जोड्नुपर्ने, ६१ पालिकासँग केन्द्रसम्म जोड्दै नजोडिएको र एक सय ६३ पालिकामा नयाँ कच्ची सडक निर्माण भएको जनाउँदै उहाँले सबै सडकलाई पक्की सडकमा रूपान्तरण गरिने बताउनुभयो । 

सबैभन्दा बढी सुदूरपश्चिममा एक हजार एक सय र सबैभन्दा कम दुई सय ७९ किलोमिटर सडक निर्माण गर्नुपर्ने जनाउँदै सङ्घीय मामिलामन्त्री ठगुन्नाले प्रदेश एवम् स्थानीय सडक निर्माण तथा सुधारका लागि दुई खर्ब रुपियाँ बजेट अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय महत्त्वको यस कार्यक्रमले देशको सामाजिक तथा आर्थिक विकासमा ठूलो भूमिका पुग्नाका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोच पूरा गर्न सहयोग पुग्नेछ । 

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख अमृत श्रेष्ठले आइतवार कर्णाली प्रदेशका २३ पालिकासँग समझदारी भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशमा ४० पालिकाबाट माग आवेदन प्राप्त भएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया