१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
तनहुँ - तनहुँको भीमाद नगरपालिका-९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो ।
त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताउनुभयो । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उहाँको भनाइ छ । 'सबैले लगाएको खोप लगाउनलाई केका डर', उहाँले भन्नुभयो ।
शुक्लागण्डकी-३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौंडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाउनुभयो । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उहाँलाई शङ्का लाग्याथ्यो रे ।
'पहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिनेभन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेपछि त्यस्तो होइन भन्ने भो', उहाँले भन्नुभयो,'आज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु ।' खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उहाँलाई लागेको छ ।
फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । त्यहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ ।
खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् । कतिलाई आफन्तले खोप लाउन डोर्याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ । कतिपय ठाउँमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।
खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो,'बुढाबढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गर्नुभएको छ ।'
तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म ब्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।