१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि थेरापी) केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो ।
प्रदेश सरकारको पाँच लाख रुपैयाँको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको त्यस केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा शिव रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ । केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ ।”
त्यस भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, बीभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलगायतको उपचार गर्न सकिन्छ । रुघाखोकी र नसाको रोगका लागि खोटोबाट गर्न सकिन्छ भने मौरीको घारबाट नेभुलाइजर जडान गरी छाति र फोक्सोको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौरीको घारमा आएको आवाज र त्यहाँ उत्पन्न रसायनको कारण शारीरिक स्वस्थतालाई मद्दत पुग्ने गर्छ ।” नेपालमा मौरी र मौरीको उत्पादनबाट उपचार गर्ने केन्द्र काठमाडौँमा रहेको भन्दै उहाँले यसको विस्तार गर्नसकेमा मौरी पर्यटन विकास गर्न सकिने जानकारी दिनुभयो । मौरीलाई टोकाएर र मौरीको घारमाथि विस्तार बनाएर सुत्दा मानसिक रोगको उपचार गर्न सकिने बताइएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि सौराहामा एपि थेरापी केन्द्र स्थापना गर्ने भनेको भए पनि सो स्थानमा व्यवस्थापनमा कठिन परेपछि भण्डारामा स्थापना गरिएको हो । मौरीपालक कृषकलाई मह उत्पादन मात्र नभएर मौरीको विभिन्न परिकार उत्पादनका लागि मद्दत पुग्ने उद्देश्यले यो केन्द्र स्थापना गर्न लागिएको हो ।
मौरीबाट उत्पादन हुने शाही खुराक, पोलन, कुट, मौरी विषलगायतका अन्य उत्पादनबाट विभिन्न रोगको उपचार हुने भएकाले यी वस्तु उत्पादनमा जोड दिन केन्द्र सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।