पार्टीलाई कुन माेडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेकाे छ : प्रचण्ड

 चैत ११, २०७७ बुधबार १८:३७:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुई दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो ।  

‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्नेबारेमा केन्द्रीय कमिटीमा छलफलमै छौँ’, अध्यक्ष दाहालले भन्नुभयो । 

उहाँले माओवादी केन्द्र कम्युनिस्ट एकता प्रक्रियामा सङ्ख्यात्मक रूपमा जुन संरचनामा गएको थियो त्यही यथावत् राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले एक भएका दुई कम्युनिस्ट पार्टीलाई यथावत् बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संरचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीको मोडालिटीबारे तपाईँहरूको पनि रचनात्मक सुझाव दिनुहोस्, राष्ट्रिय पुँजी र अर्थतन्त्रका विरुद्ध लाग्नेको लागि सङ्घर्षमा अहिले पनि लागिरहेका छौँ, सङ्गठित र संस्थागत रूपमा हामीलाई तपाईँहरूको साथ चाहिन्छ, राष्ट्रिय पुँजी निर्माण गर्दै रोजगारी सिर्जना गर्न सङ्गठनले मुख्य भूमिका खेल्नुपर्छ ।’ 

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामर्थ्य जुटाइरहेको उल्लेख गर्नुभयो । ‘एकाधिकार पुँजीवादले नागरिकको समस्या समाधान गर्दैन, विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पुँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ’, उहाँले भन्नुभयो । 

बलियो ग्रामीण अर्थतन्त्र विना राष्ट्रिय पुँजी निर्माण नहुने उहाँको तर्क थियो । 

सङ्गठनका अध्यक्ष श्याम पाठकले २०६४ मा स्थापित सङ्गठन ६५ जिल्लामा विस्तार भइसकेकाले प्रदेश र पालिका स्तरमा विस्तारको योजनामा रहेको जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया