केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउने सरकारको ...
पुस २७, २०८१ शनिबार
तनहुँ – चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागेको हो ।
गएकाे वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । रोटरी क्लबले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवालाई साेमवार मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लबको आयोजनामा तीन दिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालिम सञ्चालन भइरहेको छ । तालिममा भाग लिन आएका युवालाई बन्दीपुरको पर्यटनका बारेमा जानकारी गराउन यस ठाउँको भ्रमण गराइएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवम् पर्यटनविज्ञ हरिसिंह गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । बन्दीपुर घुम्न आएका सबैजसोले यस ठाउँका बारेमा चासो लिने गरेका छन् । ‘बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि बजेट सहयोग गरेको छ’ , उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गएकाे वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गएकाे वर्ष ७० लाख रुपैयाँ खर्च भएकामा चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँको काम भइरहेको छ । ‘पर्यटन मन्त्रालयको बजेटबाट सुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रूप दिने तयारी गरेका छौँ’ , उहाँले भन्नुभयो ।
कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका २ काे थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिने छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ ।
बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ ।
तस्बिर : रासस/कृष्ण न्याैपाने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।