म्याग्दीकाे घोडेपानीमा गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

 चैत २३, २०७७ सोमबार ११:३९:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी - अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । 

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिनुभयो । 'गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ', उहाँले भन्नुभयो 'राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।' गुराँसको फूल नपाक्दै टिपिदिँदा त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उहाँले बताउनुभयो ।

घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आँकलन गरिएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ । 

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताउनुभयो । 

बेनी, बाग्लुङ, पोखरा, चितवन, काठमाण्डौलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जो, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया