सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
म्याग्दी - काठमाण्डाैमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो।
जीवनको उर्वर समय मलेसिया र विभिन्न खाडी देशमा बिताउनुभएका ज्यामरुक कोट सानालेखका ध्रुव थापा गएकाे वर्षदेखि गाउँमै तरकारी खेती गरेर बस्नुभएको छ। म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी सुरु भएपछि कतारमा कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जम्नुभएको छ ।
त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवाले विदेश र सहरको बसाइलाई बिट मारेर गाउँमा फर्किएका मात्रै होइनन्, कृषि र उद्योगजन्य व्यवसाय गरेर गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन् ।
विदेश र सहरबाट गाउँमा फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन् ।
सहर र विदेशमा सिकेको सीप एवम् प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गर्नुभएका दुर्गाबहादुरले कोरिया र काठमाण्डाैको रोजगारी र व्यवसायभन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताउनुभयो ।
'पैसाको खोजीमा कहाँ-कहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन', ५२ वर्षीय थापाले भन्नुभयो, 'तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदो रहेछ ।' उहाँ १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताउनुहुन्छ ।
थापाले जस्तै विदेश र सहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसाको महत्त्व पाउन थालेको बताएका छन् । भारतको मुम्बईमा रहेकाे पाँच तारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र यूएईको एक होटलमा १० वर्षसम्म काम गरी गएकाे वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरेर त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने बताउनुभयो ।
घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आउनुभएको छ।
थापा, छन्त्याल, कार्की, घिमिरे, सापकोटा र फगामीजस्ता धेरै व्यक्ति अहिले सहर छाडेर गाउँमा फर्किनुभएको छ । गएकाे वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको आशङ्कामा सहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । यसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ ।
विभिन्न पेशा/व्यवसाय तथा अध्ययनका लागि सहर बसेकाहरू फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।
युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका-२ ज्यामरुककोटका ८६ वर्षीय रणबहादुर घिमिरेले बताउनुभयो । 'पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ', घिमिरेले भन्नुभयो, 'आपतविपद्, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दोरहेछ ।'
गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा ५०० बढी मालभोग जातका केराका बिरुवा लगाउँदै गर्नुभएका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले सहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो ।
वर्षौँदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् । कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।