कांग्रेस केन्द्रीय समिति बैठक आज

 भदौ ८, २०७५ शनिबार ५:४०:५५ | रासस

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक  शनिबार बस्ने भएको छ । 

पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक शनिबार बिहान ११ बजे बस्ने तय भएको हो । 

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक तय भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । 

विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उहाँले जानकारी दिनुभयो । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,” नेता बडूले भन्नुभयो । 

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो । 

यही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा कांग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

गत असार पहिलो साता मकवानपुरको हेटाँैडामा सम्पन्न काँग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलामा शीर्षनेताहरुले मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि सहभागिता हुने आश्वासन दिनुभएको थियो । 

मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौँ वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ । 

यसअघि गठन गरिएको कार्यसम्पादन समितिका बारेमा विवाद देखिएपछि उक्त समिति विघटन गरिएको थियो । काङ्ग्रेस विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया