फ्राइडे सिनेमा : ‘हरि’सँगै ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यु’ प्रदर्शनमा

 जेठ १८, २०७५ शुक्रबार १३:३०:५४ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १८ – आजदेखि तीन सिनेमा एकसाथ प्रदर्शनमा आएका  छन् । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘हरि’सँगै ‘अमेरिका बोइज’ र ‘बेबी आई लभ यु’ प्रदर्शनमा आएका हुन् । यी तीन सिनेमामध्ये कुन सिनेमाले राम्रो कारोबार गर्ला भनेर अहिले नै अड्कल लगाउन मुश्किल छ ।

सिनेमाको प्रचार प्रसारमा निर्माण पक्षले त्यति धेरै ध्यान नदिएको सिनेमा ‘हरि’बाट अभिनेता विपिन कार्की आशावादी छन् । उनी सिने करिअरमै राम्रो र आफू सन्तुष्ट भएको सिनेमा नै ‘हरि’ भएको बताउँछन् ।

 

यस सिनेमामा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतको मुख्य भूमिका रहेको छ । शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका कार्यकारी निर्माता योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा हुन् ।
 
सिनेमामा लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङको छ  भने चिन्तन राजभण्डारीको छायाङ्कनलाई  अर्जुन कार्कीले सम्पादन गरेका छन् ।

उता प्रवेश पौडेल निर्देशित सिनेमा ‘अमेरिका बोइज’ पनि आजदेखि प्रदर्शनमा आएको छ । यस सिनेमामा अर्पण थापा, सुनिल थापा, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमाथपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतलगायतको अभिनय रहेको छ ।

 

पूर्ण रुपमा कमेडी जनरामा निर्माण भएको यो सिनेमाको कारोबारलाई लिएर निर्माण पक्ष आशावादी  देखिएको छ ।

यस्तै, जनक पाण्डेको निर्देशन रहेको सिनेमा ‘बेबी आइ लभ यू’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । 

प्रेम कथामा आधारित ‘बेबी आइ लभ यु’लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । सिनेमामा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।

 

सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको यस सिनेमामा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरीलगायतका कलाकारको  अभिनय छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया