‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भन्ने चिठी लेखेकी पूजालाई सहयोग जुट्न थाल्यो

 भदौ ९, २०७५ शनिबार १३:२२:५० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पूजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । ७४ वर्षीय हजुरबुबा र आफूसहित ३ भाइबहिनीको रेखदेख गर्दै आइरहेकी पूजा घरमा खाने खर्च र पढ्नका लागि आवश्यक पोशाक तथा स्टेशनरी सामान नभएपछि बाध्यताले विद्यालय छोड्नुपर्ने अवस्था आएको भन्दै विद्यालयलाई पत्र पठाएकी थिइन् ।

उनले लेखेको पत्र विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले वडा अध्यक्ष कृष्णबहादुर बानियाँलाई देखाएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो ।

पूजाले विद्यालयलाई सम्बोधन गरेर लेखेको चिठी पढेर वास्तविक अवस्था थाहा पाएपछि अहिले उनको परिवारलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम सुरु भएको छ । 

जिल्लास्थित विभिन्न संघसंस्था, व्यक्ति, स्वदेश तथा विदेशबाट आर्थिक एवं जिन्सी सामानहरुको सहयोग भैरहेको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, विद्यालयका प्रअ सोमनाथ ढुङ्गाना र पूजा खत्रीको संयुक्त नाममा बेनीको गरिमा विकास बैंकमा खाता खोलिएकोमा अहिलेसम्म झण्डै ८० हजार रुपैयाँ आर्थिक सङ्कलन भएको जनाइएको छ । 

पूजाको बुबा ललितबहादुर खत्रीले रक्सी खाएर घरमा आउने गरेको र आमालाई दैनिकजसो कुटपिट गर्ने गरेपछि आमाले छाडेर गएकी हुन् । त्यसपछि बुबाले आफूहरु भाइबहिनी र वृद्ध हजुरबुबालाई समेत पटकपटक कुटपिट गर्ने गरेको पूजाको भनाई छ ।

रक्सी खाएर घरमा आएर कुटपिटमा उत्रिने पूजाका बुबा ललितले घरको ढोका समेत फुकालिदिएका छन् । ७४ वर्षीय वृद्ध हजुरबुबा मानबहादुर खत्री शारीरिक रुपमा अपाङ्गता हुनुहुन्छ । पूजा र हजुरबुबासहित उनको घरमा ९ वर्षीय बहिनी पुनम खत्री र ७ वर्षीय भाइ पुजन खत्री रहेका छन् ।

पूजाको माइली बहिनी ११ वर्षीय पुष्पा खत्रीलाई एक महिलाले पालनपोषण गर्ने भनेर काठमाडौंको मनमैजुमा लगेको र त्यहाँ उनलाई बालशोषण गरेकोमा उद्धारको कार्य भैरहेको छ ।

गएको ३ महिनादेखि पूजाका बुबा ललित सम्पर्कविहिन छन् । गाउँको विद्यामन्दिर आधारभूत विद्यालयबाट ५ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि जामुनाखर्क माविको ६ कक्षामा पूजा भर्ना भएकी थिइन् ।

भदौ ५ गतेबाट विद्यालयमा हुन लागिरहेको प्रथम त्रैमासिक परीक्षामा सहभागी हुन विद्यालयले पूजालाई उनका साथीहरुमार्फत खबर पठाएपछि उनले प्रत्युत्तरस्वरुप विद्यालयलाई आर्थिक अभावले विद्यालय आउन नसक्ने पत्र पठाएकी हुन् ।

पूजाले पठाएको पत्रमा घरमा खाने खर्च समेत नभएको र पढ्ने–लेख्ने कापी कलम समेत नहुँदा आफूले विद्यालय छाड्नुपरेको जनाएकी थिइन् ।

पूजाले विद्यालयलाई सम्बोधन गरेर लेखेको चिठी निर्क मर्मस्पर्शी र भावुक छ । गएको भदौ १ गतेको मितिमा पूजाले विद्यालयलाई चिठी लेखेकी छिन् । उनले पत्रमा लेखेकी छिन्, ‘आजदेखि म विद्यालयमा म भर्ना भएबाट विद्यालयमा म धेरैजसो विद्यालयमा उपस्थिति हुन पाइन, अब मलाई विद्यालयबाट रेस्टिकेट गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

यसैगरी उनले जानकारी भनेर अर्को अनुच्छेदमा लेखेकी छिन्, ‘घरमा खानी खर्च न त लेख्ने पढ्ने कापी कलम नभएकोले हो सर, म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोही छैनन् !’ चिठीको पुछारमा उनले अङ्ग्रेजीमा Thank You  भनेर पनि लेखेकी छिन् ।

आँगन र पिँढी नभएको पूजाको दुईतले घरमा भान्सासहित स–साना चारवटा कोठा मात्रै छन् । जस्ता पाताको प्रयोगमा छाएको सानो झुपडीमा पूजाको तीनभाई र हजुरबुबा बस्ने गर्दछन् ।

उनीहरुले एउटा गाई पालेका छन् भने हजुरबुबाले खाना पकाउने हुँदा तीनभाई बहिनीले गाईलाई घाँस काट्ने गर्छन् । उनीहरुको ४ रोपनी जग्गा रहे पनि वृद्ध हजुरबुबाका साथै उनीहरुलाई सम्हाल्ने अभिभावक नहुँदा समस्या भएको पूजाका छिमेकी महेन्द्र बरुवालले बताउनुभयो ।

पूजाले आफूलाई घरमा खाने खर्च र विद्यालय पोशाकको आवश्यकता परेको बताएकी छिन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारीवारिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा पूजाको परिवार तथा उनीहरुको शिक्षाका लागि आवश्यक पहल गरिने बताउनुभएको छ ।

बाबुआमा नभएको हुँदा आफूसहित भाइबहिनी र हजुरबुबाको समेत रेखदेख गर्नुपर्ने अवस्था रहेकाले यसको समाधानका लागि आवश्यक सहयोग जुटाउन पूजाको समस्यालाई उजागर गरिएको विद्यालयका प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।

वडा अध्यक्ष कृष्णबहादुर बानियाँले पूजासहित उनको परिवारको व्यवस्थापन र शिक्षादिक्षाको आवश्यक पहल भैरहेको बताउनुभयो । उहाँले वडाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई यसअघि नै कुनै पनि शुःल्क नलाग्ने व्यवस्था गरिसकिएको जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

2 Comments

  • दीलिप देवकोटा

    Aug. 25, 2018, 9:31 p.m.

    हाम्रो सरकारले विद्यार्थी भर्ना को झ्याली पिट्नु बिपन्नता मा पिल्सिएका नेपाली को लागि खिसी अनि अपमान भन्दा केहि हुन सकेको छैन आभारी हामी छौं ति सहयोगी मन अनि अवियान्ता हरु प्रति

  •  0 Reply
  • kapil dev singhak

    Aug. 25, 2018, 6:36 p.m.

    नेपालीको मन, भावना कति कोमल र उदारछ, ता की दुखमा परेका प्रति तत्कालै सहयोग गर्ने तदारुखता कति सह्रानीयछ तर देशहाँक्ने जिम्मेवारी सम्हालेकाको मन भने लुट्न पनि यतिसम्मकी आफु वाहेकका सवैजनाको हालत यी पुजाको भन्दा दर्दनाक नै कीन नवनोस !

  •  0 Reply

तपाईको प्रतिक्रिया