आत्मबल बढाउन सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित नगरप्रमुख

 जेठ १८, २०७८ मंगलबार ९:४०:२० | रासस
unn.prixa.net

कैलाली - कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटे पनि रोकिन सकेको छैन भने ज्यान गुमाउनेकाे सङ्ख्या पनि घटेकाे छैन । सक्रिय सङ्क्रमित होम आइसोलेशनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, ध्यान दिनुपर्ने खानपिनको जानकारी तथा औषधि भए/नभएकोलगायतका विषयमा जानकारी दिनुका साथै सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकाको आत्मबल बढाउन आफूहरू सङ्क्रमितकै घरसम्म पुगेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

सङ्क्रमण देखिइसकेपछि घरमै होम आइसोलेशनमा बसिरहँदा अनेक किसिमका कुरा मनमा खेल्ने तथा डर पैदा हुने भएका कारण त्यस किसिमका तनाव नलिइ स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्न तथा जानकारी दिन जाँदा सङ्क्रमितमा सकारात्मक सन्देश गएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

'केही सङ्क्रमितलाई पालिकामा आवश्यक मात्रामा अक्सिजन नभएकाले स्वास्थ्यमा बढी समस्या देखिँदा गाह्रो हुन्छ भन्ने चिन्ता रहेछ, हामीले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन, स्वास्थ्यकर्मीको व्यवस्था रहेको जानकारी दिँदै अलि समस्या देखिए सम्पर्क अनुरोध गर्यौँ, यसले पनि सङ्क्रमितमा ऊर्जा थपिएको महसुस भएको छ', नगरप्रमुख चौधरीले  भन्नुभयो ।

स्वास्थ्यकर्मीको टोलीसहित आफ्नो घरमा नगरप्रमुख आउँदा आफूहरूमा ऊर्जा थपिएको घोडाघोडी नगरपालिका–१० का एक सङ्क्रमितले बताउनुभयो । 'गाउँघरमै धेरै जनाको ज्यान लिइसकेको महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण आफूलाई देखिँदा म निकै तनावमा थिएँ तर आज उहाँहरु आएर स्वास्थ्य उपचारका लागि चिकित्सकदेखि अक्सिजनसम्म आफ्नै पालिकामा भएको र समस्या परे खबर गर्न अनुरोध गरेपछि केही चिन्ता र तनाव घटेको छ', उहाँले भन्नुभयो ।

सङ्क्रमितसँगको भेटसँगै स्थानीय बासिन्दालाई कोरोना सङ्क्रमणबाट सुरक्षित रहन भीडभाड हुने गतिविधि नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सरसफाइमा ध्यान दिन आग्रह गर्दै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताउनुभयो । स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले सङ्क्रमितको स्वास्थ्य स्थिति बुझ्न सङ्क्रमितको घरदैलोमा पुगेको उहाँको भनाइ थियो ।

अहिलेसम्म नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना भाइरसबाट घोडाघोडी नगरपालिकामा १०५ सक्रिय कोरोना सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएको, अस्थायी कोरोना अस्पतालमा अहिले चार जनाको उपचार भइरहेको, अहिलेसम्म ८५ जना निको भइसक्नुभएको तथा  सङ्क्रमणबाट २० जनाको ज्यान गएकाे स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया