सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र सुरु भएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र सुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सुरु गरिएको छ ।
प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा झन्डै एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनियर आशिष मानन्धरले बताउनुभयो । ‘बेनी घाँसा खण्डको दुई प्याकेजमा डीबीएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ’, उहाँले भन्नुभयो, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’
१६ दशमलव ५ किलोमिटर दुरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका ठाउँमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम सुरु गरेको बताउनुभयो ।
‘मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको ६ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ’, उहाँले भन्नुभयो, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।’ कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदुर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताउनुभयो ।
विसं २०७४ साउनदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । झन्डै ६ अर्ब लागतको यस आयोजनाको एक सय १० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।
विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी– जोमसोम सडक कच्ची र जीर्ण थियो । कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीन अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा/युनाइटेड जेभीले लिएको थियो ।
विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।
कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवम् तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।