बङ्गलादेशबाट आइपुग्याे ३२ हजार ५ सय मेट्रिक टन मल

 जेठ २६, २०७८ बुधबार १६:४:५८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा ती परिमाणमा युरिया मल आइपुगेको हो ।   

जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार पाँच सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेल मार्गबाट वीरगञ्जको सिर्सियामा रहेकाे सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आउने छ ।

सम्झौताअनुसार अहिलेसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाइ भएको प्रबन्धक केसीले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेका मल छिटै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशमा रहेकाे नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागेकाे हो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल दुई हजार सत सय मेट्रिक टन, डीएपी एक हजार चार सय दुई मेट्रिक टन र पोटास एक हजार दुई सय ८० मेट्रिक टन मौज्दात छ ।

मौज्दात रहेको ती परिणामकाे मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लामा रहेकाे एक सय ३१ थोक बिक्रेतामार्फत ती मल किसानसम्म पुग्ने गरिन्छ । ती कार्यालयले थोक बिक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । बिक्रेताहरूले पालिकाले तोकेको मूल्यमा किसानहरूलाई मल बिक्री गर्ने गरेको छ । कतिपय बिक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित पालिकाले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ । 

पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् । पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया