पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई हदैसम्म कारबाही गर्नू : मन्त्री श्रेष्ठ

 जेठ २६, २०७८ बुधबार १८:२२:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले देशकाे पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न र त्यसमा संलग्न​लाई कारबाही गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले यस्ताे निर्देशन दिनुभएको हो । 

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधवार (आज) सम्पन्न भर्चुअल माध्यमबाट भएकाे ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । उहाँले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अङ्कित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिनुभएको छ । 

बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । 

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिनसमेत निर्देशन दिनुभएको छ । बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठ्यक्रम स्वीकृत गरेको छ ।   

नेपालकाे नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराका भाग पनि समेटिएको छ ।  

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया