पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २७, २०७८ बिहीबार १६:२३:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षा केही बढ्न थालेको र आउँदाे हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलाे वर्षासमेत हुने जानकारी दिनुभयो ।

‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले थप्नुभयो, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आउँदाे हप्ता ठाउँ–ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

मौसमविद् गङ्गा नगरकोटी अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको बताउनुहुन्छ । त्यसैले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा पनि वर्षा भएको छ । 

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।  

सामान्यरूपमा गएकाे १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आउँदाे आइतवार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुन सक्छ ।

प्राप्त विवरणअनुसार आज दुई सय १४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित एक सय २९) मा मापन गरिएको गएकाे २४ घण्टाको वर्षाको विवरणअनुसार एक सय आठ केन्द्रमा वर्षा भएको छ । ती केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा एक सय १२ मिलीमिटर भएको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया