प्रधानमन्त्रीद्वारा लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, ‘प्लान्ट स्थापना असाधारण खुसीकाे विषय’

 जेठ ३०, २०७८ आइतबार १६:१०:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो (लिक्विड) तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव बेहाेरेकाे उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो । 

दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरकाे अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महँगाे मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ, उहाँले भन्नुभयो । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । 

महामारीकाे समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवम् देशप्रति उत्तरदायी भावनायुक्त भएको बताउनुभयो ।   

उहाँले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिनुभयो । महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ, उहाँले भन्नुभयो । 

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । आउँदा दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने भन्दै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताउनुभयो । अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रामा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उहाँको भनाइ थियो । 

रुपन्देहीको सिमरहवामा स्थापित यस प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया