सुखमा अरु पनि, दुःखमा रेडियो मात्र

स्वतन्त्र रेडियो पत्रकारिताको दुई दशक

 बैशाख २१, २०७५ शुक्रवार ९:४३:७ | मिलन तिमिल्सिना
unn.prixa.net

तीन वर्षअघि वैशाख १२ गते भूकम्प जाँदा सबै रेडियो, टेलिभिजन र अनलाइन बन्द भए । उज्यालो रेडियो नेटवर्कको प्रसारण पनि पाँच मिनेट जति अवरुद्ध भयो । त्यतिबेला उज्यालोमा दिउँसो १२ बजेको समाचार बुलेटिन थिएन । १२ बजे पनि समाचारको सट्टा गीत बज्थ्यो । 

गीत बज्ने समय भएकाले समाचार कक्षका हामी अरु काममा व्यस्त थियौं । ११ बजेर ५६ मिनेटमा भुइँचालो आयो । काम गर्दै गरेको कम्प्युटर ढल्यो । अरु सबैजस्तै हामी पनि आत्तियौं । के गर्ने, कसो गर्ने अलमल र अन्यौलमा सबै तल सडकसम्म पुग्यौं ।

भूकम्पले कम्प्युटर समेत ढलाएपछि प्रसारण रोकिएको थियो । भूकम्पको धक्का रोकिएको थिएन । अफिसको अग्लो भवन बाँस हल्लिए झैं हल्लिँदै थियो । जे त होला, अब रेडियोमा भूकम्पको खबर भन्नुपर्छ भनेर हामी हल्लिरहेको भवनको दुई तलामाथि चढ्यौं । भवन भूकम्प प्रतिरोधी भएकाले हल्ले पनि ढल्दैन भन्ने बिश्वास मरिसकेको थिएन । 

भित्ता समाउँदै माथि पुगेपछि म आफैं स्टुडियोभित्र पसें । प्राविधिक साथी शशिन्द्र गौतमले कम्प्युटर र मिक्सर खोलेर मलाई ईशारा गर्नुभयो । ‘भर्खरै ठूलो भूकम्प गएको छ, भूकम्प कतिको हो भन्ने थाहा नभए पनि यसले धनजनको ठूलो क्षति पुर्याएको आशंका गर्न सकिन्छ । भूकम्पको धक्का फेरि पनि गैरहेको हुनाले तपाईं खुला ठाउँमा गएर सुरक्षित बस्नुहोला ।’                                   

यति भन्न नभ्याउँदै फेरि हल्लियो । ल अब चाहिँ मरिने भइयो भन्ने मनमा डर लाग्यो । अफिसमा रहेका सबै आत्तियौं । तर हामीले रेडियोको प्रसारण रोकेनौं । अफिसको भवन भूकम्प प्रतिरोधी छ भन्ने विश्वासले हामीलाई आँट दियो । त्यसपछि लगातार हामीले थप सूचना र जानकारी बटुल्दै, प्रसारण गर्दै आयौं । कहिले भुइँतलाबाट, कहिले माथि स्टुडियोबाट । 

भोलिपल्ट भुईंतल्लाबाट भूकम्प सम्बन्धी जानकारी प्रसारण गरिरहँदा एकजना बुबाकै उमेरका पाका मानिस आइपुगे । ‘म तपाईंहरुलाई धन्यवाद दिन आएको, तपाईंहरुले धेरैको ज्यान बचाउनुभयो’ हामीलाई हेर्दै उहाँले भन्नुभयो । 

उहाँको कुरा सुन्दा साँच्चै राम्रो काम गरिएछ जस्तो लाग्यो । हुन पनि त्योबेला आम नागरिकको लागि रेडियो मात्र भूकम्पको सूचना थाहा पाउने भरपर्दो र एकमात्र माध्यम थियो ।

धेरै टेलिभिजन दिनभरजसो बन्द थिए । रेडियोभन्दा छिटो समाचार दिन सक्ने अनलाइनले निकै पछि मात्र समाचार प्रकाशित गरे । रेडियोमा पनि सबैभन्दा पहिले उज्यालो र रेडियो नेपाल मात्र भूकम्पको जानकारी दिन सफल भए । भूकम्पको भोलिपल्ट, पर्सिपल्टदेखि अरु रेडियो स्टेशनले पनि भूकम्प सम्बन्धी सामग्री दिन थाले ।

भूकम्प प्रभावित जिल्लाका रेडियो स्टेशनका भवन भत्किएका थिए । कम्प्युटर लगायतका सरसामग्री पुरिएका थिए । यस्तो अवस्थामा पनि ती रेडियो स्टेशनले पालमुनी र खेतबारीबाट समेत आफ्नो प्रसारण सुरु गरे । 

‘नमस्कार, यो रेडियो मेलम्ची हो । हामी यतिबेला बारीको कान्लाबाट बोलिरहेका छौं’ सिन्धुपाल्चोकको दुवाचौरमा रहेको रेडियो मेलम्चीले धेरै दिनसम्म मकैबारीबाटै आफ्नो प्रसारण गर्यो । भूकम्पको सूचना लिन र मोबाइल चार्ज गर्न समेत धेरैले रेडियोमै भर पर्नुपर्यो ।

भूकम्प प्रभावित जिल्लाका अरु रेडियो स्टेशनले पनि विपदको बेला यसैगरी रेडियो सञ्चालन गरे । भूकम्पको त्योबेला रेडियो मात्र सूचनाको भरपर्दो माध्यम थियो । सबै टहरा र पालमुनि बसेको बेला टेलिभिजन हेर्न मुश्किल थियो । मोबाइल चार्ज गर्न त समस्या परेको बेला अनलाइन र सामाजिक सञ्जाल हेर्न सकिंदैन थियो । यस्तोबेला भूकम्पपछि उद्धार र राहत लगायत विपद सुरक्षा सम्बन्धी जानकारी थाहा पाउने माध्यम रेडियो मात्रै थियो । 

यो त भूकम्पको मात्रै कुरा भयो । विकट ठाउँमा बस्ने, लेखपढ गर्न नसक्ने, टेलिभिजन र मोबाइलको पहुँच नहुने अनि कामबाट फुर्सद निकाल्न नसक्ने आम नागरिकलाई सूचना, शिक्षा र मनोरञ्जन दिने काममा नेपालका स्वतन्त्र रेडियोको भूमिका निकै महत्वपूर्ण छ । अझ आपतविपत र अरु महत्वपूर्ण घटनाको बेला सही सूचना र जानकारी सही बेला दिने काममा अरु आमसञ्चार माध्यमभन्दा रेडियो अगाडि छन् ।

नेपालमा स्वतन्त्र रेडियो 

विक्रम सम्वत् २००४ सालदेखि नेपाली नागरिकले रेडियो राख्ने अनुमति पाएका हुन् । २००७ साल मंसिर महिनामा प्रजातान्त्रिक योद्धाहरुले विराटनगरको जुट मिलबाट रेडियोको सुरुवात गरेका थिए । प्रजातान्त्रिक रेडियोको नामबाट सुरु भएको रेडियोलाई २००७ साल चैत २० गते सिंहदरबारमा सारियो र नेपाल रेडियो बनाईयो । पछि रेडियो नेपाल भयो । 

रेडियोको थालनी नेपालमा प्रजातन्त्र ल्याउने आन्दोलनको अङ्गको रूपमा सुरु भए पनि पञ्चायत कालभरि रेडियो नेपालले राजतन्त्र र पञ्चायती व्यवस्थालाई बलियो पार्ने काम मात्रै गर्यो । 

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि रेडियो प्रसारणलाई सरकारी एकाधिकारबाट मुक्त गरियो । यो प्रयास नागरिकलाई सुसूचित गरेर बलियो बनाउने दक्षिण एसियामै ऐतिहासिक कदम थियो ।

यसपछि नेपालमा निजी क्षेत्रबाट रेडियो संचालन गर्ने लहर चल्यो । गैरसरकारी क्षेत्रमा रेडियो प्रसारणको अनुमति पाउने पहिलो स्टेशन रेडियो सगरमाथा हो । नेपाल वातावरण पत्रकार समूहले २०५२ सालदेखि चार पटक निवेदन दिएपछि २०५४ साल जेठ ५ गते सरकारले रेडियो सगरमाथा सञ्चालन गर्ने स्वीकृति दियो । 

काठमाडौं बाहिर पहिलो पटक २०५६ साल माघ २७ गते  रुपन्देहीमा रेडियो लुम्विनीले प्रसारण थाल्यो भने पाल्पाको मदनपोखरामा २०५६ साल चैत २३ गतेदेखि प्रसारण शुरु गरेर रेडियो मदनपोखराले नेपालको पहिलो गाउँले तथा सामुदायिक रेडियो हुने श्रेय लिएको छ । 

२०५४ सालदेखि लोकप्रिय हुन थालेको एफ.एम. रेडियोले २०६१ माघमा आइपुग्दा निकै हण्डर र ठक्कर खेप्नुपर्‍यो । माघ १९ गते त्यसबेलाका राजाले असंवैधानिक कदम चाले लगत्तै संचार माध्यममाथि सेन्सर र नियन्त्रण थालियो । यसको सबैभन्दा बढी मार एफ.एम. रेडियोले खेपे । एफ.एम. समाचारमाथि प्रतिबन्ध लगाइयो । 

तर २०६३ वैशाख ११ गते लोकतन्त्र आइसकेपछि एफ.एम. रेडियोको विस्तार फेरि ह्वात्तै बढ्यो । लोकतन्त्र हुँदै देशमा गणतन्त्र आईसकेपछि निजी प्रयासमा रेडियो स्थापना गर्ने लहर झनै बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नियमित प्रसारणमा रहेका एफएम रेडियोको संख्या ५६५ छ । ७०२ वटाले इजाजत लिएका छन् ।

नागरिक र समुदायको चासो, सरोकार र आवश्यकतालाई केन्द्रसम्म पुर्‍याउने र केन्द्रका नीति, नियम र निर्णयबारे नागरिकको घर दैलोसम्म पुर्‍याउने जिम्मेवारी स्वतन्त्र अर्थात एफ.एम. रेडियोकै हो । स्थानीय स्तरका गतिविधिदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका घटना, विचार र गतिविधिलाई नागरिकसम्म पुर्‍याउने काम एफ.एम. रेडियोले गरिरहेका छन् ।  

उज्यालो रेडियो नेटवर्क : नेटवर्किङ अवधारणाको अगुवा 

शिक्षा, सूचना र जानकारी मार्फत नागरिकको सशक्तिकरणमा जोड दिने, गाउँ र नागरिकका समस्या र उपलव्धीसँगै राष्ट्रिय चासो र सरोकारमा बहस गर्ने तथा गाउँ र केन्द्रबीच अन्तकृया हुने किसिमको वातावरण उपलब्ध गराउने उद्देश्यले विक्रम संवत २०५५ साल वैशाख १६ गते कम्यूनिकेसन कर्नरको स्थापना भयो । क्रियाशील पत्रकारहरु गोपाल गुरागाईं, मण्टेश्वरी राजभण्डारी, भीमसेन राजबहाक, हेमलता राई र कृष्ण श्रेष्ठको अग्रसरतामा कम्यूनिकेसन कर्नरको स्थापना भएको हो । 

स्थापना हुनुअघि नै पत्रकारहरुको यो समूहले खोजखबर कार्यक्रमबाट रेडियो पत्रिकाको सुरुवात गरेको थियो । कम्यूनिकेसन कर्नर स्थापना गरेपछि यो समूहले हाकाहाकी, बराबरी, कुरा खस्रा मीठा जस्ता कार्यक्रम निर्माण गर्‍यो । यी सबै कार्यक्रम निकै लोकप्रिय थिए । 

यातायातको असुविधा, भौगोलिक विकटता र सञ्चार सुुविधाको अभावले गर्दा गाउँघरमा ताजा समाचार पुर्‍याउने काम सजिलो थिएन । यस्तै असजिलोमा पनि कहिले स्थल र हवाई यातायातबाट र कहिले टेलिफोनबाट कम्युनिकेसन कर्नरले रेडियो कार्यक्रमहरुको वितरण सुरु गर्यो । 

२०६० साल माघ १२ गतेदेखि कम्यूनिकेसन कर्नरले सूचना र समाचारमूलक कार्यक्रमहरु स्याटलाईट अडियो च्यानलबाट वितरण गर्न थाल्यो । काठमाडौंमा तयार पारिएका रेडियो कार्यक्रमहरु देशभर एकसाथ प्रसारण हुन थाले । सुरुमा कम्यूनिकेसन कर्नरले उत्पादन गर्ने रेडियो कार्यक्रमहरु स्याटलाइटमार्फत् १० वटा एफ.एम. स्टेशनबाट बज्थे । 

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन हातमा लिने बित्तिकै संचार माध्यममा लागेको अंकुशबाट कम्यूनिकेसन कर्नर पनि अछुतो रहन सकेन । सूचना तथा सञ्चार मन्त्रालयले कम्यूनिकेसन कर्नरको स्याटलाईट प्रसारणमा रोक लगायो । एक वर्षभन्दा बढी स्याटलाइट प्रसारण बन्द नै भयो । 

०६२–०६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि कम्युनिकेसन कर्नरले आफ्नो प्रसारणमा अर्को फड्को मार्‍याे। 

रेडियो नेपालबाट खोजखवर र हाकाहाकी जस्ता रेडियो पत्रिका हुँदै विभिन्न एफ.एम. स्टेशनहरुबाट कायाकैरन, नेपाल दर्पण, नेपाल खवर जस्ता समाचारमूलक कार्यक्रम उत्पादन गरेको कम्यूनिकेसन कर्नरले २०६३ सालदेखि काठमाडौंमा आफ्नै एफएम स्टेशन उज्यालो रेडियो नेटवर्क सञ्चालन गरिरहेको छ । अहिले देशभरका तीनसय भन्दा बढी रेडियो स्टेशनहरु उज्यालोको नेटवर्कमा जोडिएका छन् । उज्यालोको नेटवर्क प्रभावकारी देखिएपछि अहिले रेडियो नेटवर्कको लहरै चलेको छ ।  

स्वतन्त्र रेडियोका दुई दशक : चुनौतीसँगै अवसर पनि

स्वतन्त्र रेडियोको यात्राले दुई दशक नाघि सकेको छ । यस बीचमा देश र समाजमा धेरै परिवर्तन भैसके । पहिलेको जस्तो अवस्था अहिले छैन । सूचना र जानकारी रेडियोभन्दा पहिले सामाजिक सञ्जाल र अनलाइनमार्फत थाहा पाउन सकिन्छ । त्यसैले रेडियो सुन्नेको संख्या घटेको छ । 

सेयरकाष्ट इनिसियटिभ्सले अघिल्लो वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा जनसंख्याको ५२ दसमलव ८ प्रतिशतका घरमा रेडियो सेट छन् । ७२ प्रतिशतका घरमा टेलिभिजन र झन्डै ९८ प्रतिशत घरधुरीमा मोबाइल सेट छन् ।

५ वर्षअघिसम्म कूल जनसंख्याको ६० प्रतिशतले रेडियो सुन्ने गरेको तथ्याँक थियो । ५ वर्षको अवधिमा रेडियो सुन्नेको संख्या ६ प्रतिशतले घटेको छ । भूकम्प, चुनाव तथा अरु महत्वपूर्ण घटनाको बेला रेडियो सुन्नेको संख्या बढ्ने र साधारण अवस्थामा घट्ने गरेको सर्बेक्षणहरुले देखाएका छन् । 

समाचारकै कुरा गर्ने हो भने रेडियोभन्दा अनलाइन छिटो छन् । हातमा मोबाइल हुँदा खबर उतिखेरै थाहा पाउन सकिन्छ । रेडियो सुन्ने श्रोताको चाहना र आवश्यकता अर्कै भैसकेको छ । तर रेडियोका कार्यक्रम र समाचारमुलक सामग्री पुरानै ढर्राको हुँदा विशेष घटना बाहेक अरुबेला रेडियो सुन्ने कम हुदैछन् ।

सेयरकाष्टकै सर्वेक्षण अनुसार श्रोताहरु पहिले जस्तो रेडियो सुनेर बस्दैनन् । समूहमा बसेर रेडियो सुन्ने र त्यसको आधारमा धारणा बनाउने चलन कम भैसकेको छ । समाचार र सूचना थाहा पाउन आफ्नो अनुकूलता वा फुर्सदमा मात्रै रेडियो सुन्नेहरु धेरै छन् । 

रेडियो सुन्नेको संख्या कम भए नेपालीले समाचारका लागि अनलाईन र टीभी भन्दा रेडियो सुन्ने र रेडियोकै खबरलाई विश्वसनीय मान्ने गरेको पाईन्छ । सेयरकाष्टकै सर्वेक्षणलाई आधार मान्दा पनि झन्डै ४५ प्रतिशतले रेडियोबाट आफूले समाचार र सूचना प्राप्त गर्ने बताएका छन् । जबकी ४० प्रतिशतले टेलिभिजन र ६ प्रतिशतले अनलाइन पोर्टल तथा ३ प्रतिशतले सामाजिक सञ्जाललाई समाचारको स्रोत बताउने गरेको पाइएको छ । 

यसबाट पनि थाहा हुन्छ, रेडियो सुन्नेको संख्या घटे पनि रेडियोको शक्ति भने अरु आमसञ्चारका माध्यमभन्दा बलियो छ । अझै पनि नागरिकले अनलाइन र टेलिभिजनलाई भन्दा बढि रेडियोलाई विश्वास गर्छन् । भूकम्प लगायतका अरु विपत र दुःखको बेला सूचना र जानकारीको लागि रेडियो नै सबैभन्दा भरपर्दो माध्यम हो ।

श्रोताको चाहना र आवश्यकताअनुसार कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन सके स्वतन्त्र रेडियोले अझै बढी विश्वास जित्ने पक्का छ । 

अन्तिम अपडेट: साउन २६, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया