बैतडीमा विद्युत् विस्तारको माग राख्दै जनप्रतिनिधिद्वारा अनशन

 असार १५, २०७८ मंगलबार १०:४०:३८ | रासस
unn.prixa.net

बैतडी - गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन सुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बस्नुभएको छ । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहनुभएको छ । उहाँहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमवारदेखि अनशन सुरु गर्नुभएको हो ।

गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, 'मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।'

मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उहाँहरुको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उहाँहरुको माग छ । माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनीसमेत दिइएको छ ।

यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताउनुभयो । मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।'यसअघि आइतवारमात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Laxmi Datt Paintola

    June 29, 2021, 11:29 a.m.

    मेलौली नपा वडा नं २ र ३ मा पाेल मात्रै गाडेकाे भै बर्ष भकाे छ।विद्युत प्रसा,ण लाइन तार कहिले तान्ने।जनताले पाेल हेरेर बस्नु परेकाे र पाेल पनि अन्धाधुन्ध मनमर्जि गाडियकाछन।

  •  0 Reply

तपाईको प्रतिक्रिया