बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण

 असार १८, २०७८ शुक्रबार १७:५२:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झन्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । 

सन् २००१ मा अमेरिकामा आतङ्कवादी आक्रमण भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवम् आतङ्कवादी सङ्गठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।

दुई अमेरिकी सैनिक अधिकारीले त्याे विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् ।   

बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रूपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ दुई

हजार पाँच सयदेखि तीन हजार अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ । 

राष्ट्रपति जो बाइडेनले आउँदाे सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् ।

साथै नेटो आबद्ध झन्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ ।   

धेरैजसाे नेटो सैनिक यसै हप्ता विना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दै छन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली देशका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ । 

संयुक्त राज्य अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन । काबुलमा रहेकाे हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको बिदाइको घोषणा नगरेको हो । टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन् । 

अमेरिकाले राजधानी काबुलमा रहेकाे अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६ सय सैनिक राख्ने बताएको छ । 

एक पटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट झन्डै एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ । 

यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवम् स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ । 

सन् १९५० का दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।

सन् २००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए । यो विशाल हवाई मैदानमा दुई वटा रनवे छन् । पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ र यो सन् २००६ मा नाै करोड ६० लाख डलरमा बनाइएको हो ।   

बघराम हवाई अड्डा अमेरिकी र नेटो फौजले परित्याग गरेको बारेमा अफगान सरकारले पनि केही बताएको छैन । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया