एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन सक्दैन : कँडेल

 असार १८, २०७८ शुक्रबार १८:५६:५१ | रासस
unn.prixa.net

सुर्खेत – एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले सदनमा एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन नसक्ने बताउनुभएको छ । प्रदेश सभामा रहेकाे दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कर्णालीमा आफ्नो पार्टीलाई सत्तापक्ष बनाउन खोजिएकामा आपत्ति जनाउनुभयो । 

नेता कँडेलले दलको सहमतिविना दलको सदस्यलाई सहभागी गराएर सरकार बनाउने संवैधानिक प्रावधान नै नभएको जिकिर गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको सरकार हो, त्यस धारामा व्यक्तिलाई लिएर सरकार बनाउने कुनै दललाई अधिकार छैन्, उहाँले भन्नुभयो, संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य मान्यता र संसदीय परम्परा विपरीत सरकारले नै प्रदेश सभामा समस्या सिर्जना गर्न खोजिरहेको छ, जुन प्रयास एमालेलाई किमार्थ स्वीकार्य हुँदैन । 

सरकारले तत्काल आफ्नो दलका तीन सदस्यलाई मन्त्रीबाट बर्खास्त नगरे प्रदेश सभा बैठक चल्ने नसक्ने जनाउँदै उहाँले भन्नुभयो, एमालेका कारण प्रदेश सभा बैठकमा अवराेध भएको होइन, सरकार नै बजेटमाथि छलफल चलाउने पक्षमा देखिएको छैन ।

गएकाे वैशाख ३ गते एमाले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर ‘फ्लोर क्रस’ गर्नुभएको थियो । एमालेले ‘फ्लोर क्रस’ गर्ने चार जनालाई प्रदेश सभा सदस्य र पार्टीको साधारण सदस्यबाट निष्कासन गरेपछि उहाँहरू सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्चले गएकाे जेठ २७ गते ‘एमाले संसदीय दलकै सदस्यका रूपमा काम गर्न दिनू’ भन्ने अन्तरिम आदेश दिएपछि ती चार सदस्यलाई प्रदेश सभाले प्रतिपक्षीकै सिट व्यवस्थापन गरेको छ । ज्वालाबाहेक तीन सदस्य मन्त्रीको हैसियतमा सत्तापक्षको सिटमा बस्दै आउनुभएको छ ।

एमालेले आफूहरूलाई सत्तापक्ष र प्रतिपक्षी दुवै भूमिकामा देखाउन खोजिएको जनाउँदै यही विषयलाई लिएर प्रदेश सभा बैठकमा अवराेध गर्दै आएको छ । आज पनि एमाले अवरोधका कारण बैठक कार्यसूचीमै प्रवेश नगरि यही असार २४ गतेसम्मका लागि स्थगित भयो । 

एमालेले आफ्नो माग सम्बोधन नगरे प्रदेश सभाबाट बजेट पास हुन नसक्ने बताएको छ । अहिले प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा सहरी विकास; शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनुहुन्छ । उहाँहरूलाई लगातार दलको बैठकमा अनुपस्थित भएको, सरकारबाट फिर्ता हुन दिएको निर्देशनको पालना नगरेको भन्दै एमाले संसदीय दलले एक महिनासम्मका लागि प्रदेश सभा सदस्य पदबाट निलम्बन गरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया