सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
पर्वत - पर्वतको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराेका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमिन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन् ।
पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्त विक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ । वडा नं २ कै सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् ।
'त्यहाँ केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घर उच्च जोखिममा रहेका छन् । पहिराभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ', तिमिल्सिनाले भन्नुभयो, 'वनबाट सुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ ।'
पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ रुपैयाँ लगानी गरिएका कृषि फार्म पनि छन् । पहिरो झरेमा ती सबै फार्म पुरिएर पूर्ण क्षति हुने स्थानीयवासी सविना सुब्बाले बताउनुभयो । त्यहाँ बङ्गुर, कुखुरा र माछाका फार्म छन् । फार्ममा सुब्बाले सात लाख रुपैयाँ लगानी गर्नुभएको छ । यस्तै सञ्जीवनी सहकारीले १४ लाख, तेजबहादुर क्षेत्रीले सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाले करिब १० लाख रुपैयाँ लगानी गरेका छन् ।
'माथिबाट पहिरो आएर कतिबेला बगाउने हो भन्ने पिर मात्रै छ । गेगरसहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरेझैँ आउने अवस्था छ', उहाँले भन्नुभयो, 'पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ । निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।'
पहिरो आउन सक्ने उच्च जोखिमका कारण भने कोरुङ्गा सामुदायिक वन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन् । सडक खन्ने बेलामा भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमिन लच्किएको शिक्षक तिमिल्सिनाले बताउनुभयो ।
लच्किएको जमिन पहिराेका रूपमा झरेमा करिब पाँच किलोमिटर सडकसमेत बग्ने अवस्थामा छ । कालोपत्र र ढलान गरिएको यस सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो । मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिराेको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।
जमिन लच्किएको ठाउँबाट साना पहिराे हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उहाँले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।