अर्थ मन्त्री–चिनियाँ राजदूतबीच भेट, नेपालले थप १६ लाख डाेज खाेप चाँडै प्राप्त गर्ने

 साउन १५, २०७८ शुक्रबार १५:१७:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कोभिडविरुद्ध नेपाली नागरिकलाई खोप सरकारको प्राथमिकतामा रहेको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । उहाँले चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थ मन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुभएको अर्थ मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

चिनियाँ नागरिक र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली नागरिक र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताउनुभयो । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिनुभयो । 

यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उहाँले दरबार हाई स्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया