नौ वर्षमा मध्य–भोटेकोसीकाे काम ६५ प्रतिशत मात्र

 भदौ ३, २०७८ बिहीबार २०:३०:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भूर्तेलले जानकारी दिनुभयो ।

६ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोसीमा बारम्बार आएको बाढी र कोभिड–१९ को सङ्क्रमणका कारण काम पछि धकेलिँदै गएको छ । अहिले जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनुपरेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उहाँको भनाइ छ ।  

आयोजनामा कार्यरत धेरै कामदार सङ्क्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ । त्यहाँ अहिले नेपाली ७० र चिनियाँ ए कसय ८९ गरी दुइ सय ५९ कामदार कार्यरत छन् ।सात सय २४ मिटर सुरुङमध्ये चार सय १५ मिटर खन्न अझै बाँकी छ । विद्युत् गृहकाे काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएको छ । 

काठमाण्डाै लगिने माथिल्लो तामाकोसीको २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको सब–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रसारण लाइनको प्रक्रिया सुरु भएको छ । 

यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वन क्षेत्रमा रहने  हुँदा वन तथा वातावरण मन्त्रालयबाट रुख कटानकाे स्वीकृति आउने प्रक्रियमा छ । त्यस्तै पाँच वटा टावर व्यक्तिको जमिनमा परेकाले मुआब्जाकाे प्रक्रिया सुरु गरिएको छ । 

स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङ्सी हाईड्रो इलेक्ट्रिकल कन्स्ट्रक्शन ब्युरो र भारतीय अस्ट्रिय एन्डिज हाइड्रोले काम गरिरहेको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया