सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
बागलुङ – बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररूपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।
पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारवासी बताउँछन् ।
कोरोना महामारीमा यसको अभाव झनै खट्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्पसको प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको छ । सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ ।
राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वडा वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन । जिल्लाबाट कोरोनाका बिरामीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुःखद् रहेको स्थानीय राजन शर्मा बताउनुहुन्छ ।
धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानाले बताउनुभयो । 'अस्पतालको जग्गा २५ रोपनी छ । खाली जग्गा निकै कम छ, सुरुमा गुरुयोजना नबनाउँदा आवासीय भवन अस्तव्यस्त रुपमा निर्माण भएका रहेछन्', उहाँले भन्नुभयो, 'अस्पतालको छतमा हेलिप्याड बनाउन प्रयास गरेका थियौँ, त्यो प्राविधिक रूपमा कठिन र बढी खर्चिलो भएकाले सकिएन, अस्पतालभित्रै हेलीप्याडको खाँचो छ, जग्गा छैन, बागलुङ बजारमा जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन ।' क्याम्पस प्राङ्गणमा हेलिकप्टर अवतरण गर्दा पठन पाठनमा असर पर्दै आएको छ ।
क्याम्पसमा हेलिकप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनुभयो । 'कहिलेकाहीँ त दैनिकजसो हेलिकप्टर आउँछ, हामीलाई थाहा हुँदैन, क्याम्पसमा कहिले पढाइ त कहिले परीक्षा चलिरहेको हुन्छ, व्यवहारिकरुपमा अत्यावश्यक उद्दारमा त हामीले केही भनेका छैनौँ', उहाँले भन्नुभयो' भेटघाट, घुमघाम तथा चुनावी प्रचारमा आउने हेलिकप्टर क्याम्पसमा नराख्दा राम्रो हुन्थ्यो, उपल्लाचौरको ब्यारेक तथा बाङ्गेचौरको खेल मैदान विकल्प हुन सक्छ ।
हेलिकप्टर ल्याउनेमध्ये केहीले मात्रै क्याम्पसलाई जानकारी दिने गरेको र अरुले हचुवाको भरमा अवतरण गराउँछन् । हेलिकप्टर हेर्नेको समेत क्याम्पसमा भीड बढ्दा सुरक्षा चुनौतीसमेत बढेको उहाँको भनाइ छ । शैक्षिक संस्थाभित्र हेलिकप्टर राख्दा क्याम्पस प्रशासनलाई जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ । जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा अवतरण गर्न हेलिप्याड बनाएकोले स्थानीय तहसँग समन्वय गरी जिपिएससहितको विवरण तयार पार्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताउनुभयो ।
वैकल्पिक व्यवस्थापनका लागि क्याम्पसको प्राङ्गण प्रयोगमा ल्याइएको र बजारका अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको उहाँको भनाइ छ । कोरोना सङ्कटमा हेलिकप्टरबाट सङ्क्रमितको उद्धार व्यापक भएकाले हेलिप्याड आवश्यक भएकाले आपत्कालीन अवस्थामा सुरक्षा निकायको हेलिप्याडसमेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
आर्थिक हैसियत राम्रो भएका चाडपर्वमा घर फर्कंदासमेत हेलिकप्टरको प्रयोग गर्दै आएका बताइएको छ । आपत्कालीन अवस्थामा बाहेक अन्य समयमा क्याम्पस हातामा हेलिकप्टर राख्दा समस्या हुने क्याम्पस प्रशासनले जनाएको छ । सो अस्पतालले २०० श्ययामा अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भइरहेको जनाउँदै आएको छ ।
हालै मात्र अस्पतालको पूरै जग्गामा विस्तृत आयोजना प्रतिवेदन बनाइएको छ भने आगामी दिनमा निर्माण गर्ने अस्पताल भवनका छतमा हेलिप्याड राख्न मिल्ने छत बनाउने उद्देश्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।