मानव निर्मित ‘ठूलो’ तालमा चल्न थाल्याे जेट बोट

 भदौ ४, २०७८ शुक्रबार १७:०:१६ | रासस
unn.prixa.net

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका १२ मा रहेकाे मानव निर्मित ठूलो मानिएको भरत तालमा 'जेट बोट' चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरूपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेट बोट सञ्चालनमा ल्याइएको छ । 

पूर्व–पश्चिम लोकमार्गदेखि झन्डै दुई किलोमिटर दक्षिणतर्फ रहेको त्यस मानव निर्मित तालमा ३५ सिटे जेट बोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाका अनुसार मोटर बोट सञ्चालनमा आएदेखि याे ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेट बोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

मेयर थापाको विशेष पहलमा झन्डै एक सय २१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीयवासी र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् । 

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आउँदा दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ । 

नगरपालिकाभित्रका झन्डै एक हजार दुई सय बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण सुरु गरिएको नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्त्वपूर्ण स्रोत बन्न सक्छ । 

यस ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोजस्थलका रूपमा पनि विकास गरिने योजना नगरपालिकाकोे छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताउनुभयो । 

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उहाँको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसाेर्ट होटल प्यालेसले रानीपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’को याद आउने उहाँले बताउनुभयो ।

अझ मानव निर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने झन्डै ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको अहिलेसम्मको कुल लागत झन्डै ३० करोड रुपैयाँमा अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

यस तालको अध्ययन, अवलोकन भ्रमणमा आउनुभएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले वाग्मती नगरपालिकाका मेयर थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गर्नुभएको छ । 

यस तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिनुभयो । 

साथै तीन सय सिट क्षमताको तीन तले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेस्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । त्यस क्रुजमा जापान र चीनमा बनेका इन्जिन जडान गरिनेछ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने गरेका छन् । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया