जलवायु परिवर्तनको असरबारे अनुसन्धान केन्द्रित हुनुपर्छ : मन्त्री भुसाल

 भदौ ९, २०७८ बुधबार २०:२७:२८ | रासस
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

बबरमहलमा रहेकाे जल तथा मौसम विज्ञान विभागको आज बुधवार निरीक्षण गर्ने क्रममा उहाँले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भए पनि नेपालजस्ता साना देशमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ थियो । 

उहाँले भूक्षय, बाढी–पहिराेजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘बाढी तथा पहिराेको असर हामीले झेलिरहेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जनधनको क्षति भएको छ ।’

उहाँले मौसमजन्य विपत्तिबाट नागरिककाे जीवनको रक्षा गर्ने तथा हुन सक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्त्वपूर्ण रहेको र त्यसका लागि विभागले चाैबीसै घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । मन्त्री भुसालले सङ्गठन पुनर्संरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि (आईटी) सम्बन्धी दरबन्दी समयानुकूल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजना अनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो । त्यस अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया