सबै प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी : स्वास्थ्य राज्मन्त्री

 भदौ १४, २०७८ सोमबार १४:५९:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सातै प्रदेशमा प्रसूति तथा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । 

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज साेमवार सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्री रोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो । उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्री रोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो । 

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । ‘’यहाँ भएका साधन–स्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्, उहाँले भन्नुभयो, ‘’अस्पतालले मन्त्रालयसँग के अभाव छ, त्यसको माग गर्न पर्‍याे, हामी उपलब्ध गराउन तयार छौँ ।

उहाँले दूरदराजका नागरिकले अझै स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राख्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा सात सय शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरूले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप पाँच वटा चीनबाट आएपछि वितरण गर्ने बताउनुभयो । 

अस्पतालकी निर्देशक डा. सङ्गीताकौसल मिश्राले अस्पतालमा थप दुई सय शय्या थप गर्न गइरहेको जानकारी दिनुभयो । उहाँले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’ बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताउनुभयो । 

अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष झन्डै २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्री रोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट सुरु भएको भस अस्पतालमा अहिले चार सय ८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलमा रहेकाे प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया