निर्मला हत्या प्रकरणः खानेपानीमन्त्री मगरद्वारा पीडित परिवारसँग भेटघाट

 भदौ १६, २०७५ शनिबार १३:२४:१७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिनापछि कञ्चनपुर पुग्नुभएकी खानेपानी मन्त्री बिना मगरले निर्मला पन्त र शन्नी खुनाको परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएकोे छ । 

शनिबार कञ्चनपुर पुगेर मन्त्री मगरले स्थानीय प्रशासनसँग निर्मलाको बलात्कारपछि हत्याको घटनाका बारेमा भइरहेको अनुसन्धान लगायत विषयमा छलफल गरी पीडित परिवारसँग भेट गर्नुभएको हो ।

निर्मलाका आफन्तसँगको भेटका क्रममा मन्त्री मगरले घटनाको अनुसन्धानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउदै अपराधि कुनै पनि हालतमा नउम्किने बताउनुभएको छ । 

‘सरकारले घटनाको छानबिन तथा अनुसन्धानका लागि कुनै कसर बाँकी राखेको छैन्’, मन्त्री मगरले भन्नुभयो ‘हामीले पनि यसबारेमा आवाज उठाइरहेका छौ ।’

घटनाको एक महिनासम्म हत्यारा पत्ता नलागेकाले कुनै शक्तिको चलखेल भएको हुनेसक्ने आमनागरिकले शंका गरिरहेका बेला मन्त्री मगरले अपराधि जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा आउने बताउनुभएको छ । 

उहाँले निर्मलाको बलात्कार र हत्याका घटनामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शन्नी खुनाका आफन्तसँग पनि भेट गर्नुभएको छ । मन्त्री मगरले शन्नीकी आमालाई भेट गरी उनको मृत्युप्रति गहिरो शोक व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । 

मन्त्री मगरसँगै प्रतिनिधि सभाका सांसद डा. दिपक प्रकाश भट्ट, निरु पाल र प्रदेश भाका सांसद प्रकाश रावल तथा मान बहादुर सुनारको उपस्थिति थियो । 
उहाँले शुक्रबार राति बलात्कार भएकी बेल्डाँडीकी बालिकाको परिवारसँग भेट गरी शनिबार नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया